महोत्तरी- महोत्तरीको औरही क्षेत्रमा पछिल्ला वर्षहरूमा लागुपदार्थको समस्या भयावह रूपमा बढ्दै गएको छ। पहिले सीमित युवामाझ सीमित रहँदै आएको नशाको प्रयोग अहिले गाउँ–टोलका अधिकांश घरपरिवारसम्म फैलिएको छ। यसले धेरै परिवारलाई विनाशको किनारमा पुर्याएको छ-कसैले सन्तान गुमाएका छन्, कतिपय कानूनी कारबाहीमा परेका छन्, र कतिले जेल सजायँ भोगिरहेका छन्। समाजमा यो स्थिति अब बेवास्ता गर्न सकिने अवस्थामा छैन।
स्थानीय बासिन्दाहरूका अनुसार फेन्सिडिल, टाब्लेट, गाँजा, चरेस र ब्राउन सुगरजस्ता नशालु पदार्थहरूको गुप्त कारोबार बढ्दो छ। यसको प्रभाव विद्यालय, परिवार र समुदाय सबैमा गहिरो रूपमा देखिएको छ। विशेषगरी विद्यालय नजिकै यस्ता पदार्थको बिक्री–वितरण बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ, जसले विद्यार्थीहरूलाई पनि नशाको चपेटामा पार्ने जोखिम बढाएको छ।
यस अवस्थामा विद्यालय क्षेत्रलाई पूर्ण रूपमा नशामुक्त क्षेत्र घोषणा गर्न अत्यावश्यक छ। संघीय, प्रादेशिक र स्थानीय सरकारहरूले विद्यालयको १५ सय मिटर भित्र कुनै पनि मादक वा लागूऔषधजन्य पदार्थको बिक्री, वितरण र सेवन निषेध गर्ने कानूनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। त्यस्ता गतिविधि फेला परेमा तुरुन्त कानूनी कारबाही गरिनु अपरिहार्य छ। साथै, विद्यार्थी, शिक्षक र अभिभावकले पनि यस्तो अवैध क्रियाकलापबारे प्रहरी वा स्थानीय निकायलाई जानकारी गराउने जिम्मेवारी निर्वाह गर्नुपर्छ।
त्यस्तै, स्थानीय तहले गाउँभर सचेतनामूलक सूचना जारी गर्नुपर्छ— कुनै पनि बालबालिकालाई लागूऔषध, चुरोट, सुर्ती वा अन्य मादक पदार्थ खरिद गर्न पठाउन नपाइने नियम कडाइका साथ पालना गर्न। अभिभावक वा व्यक्तिहरूले यस नियम उल्लंघन गरेमा कानूनी कारबाहीको दायरामा ल्याइनु जरुरी छ।
तर केवल कानूनी कदम पर्याप्त छैन। समाजले पनि आफ्नै स्तरमा सक्रिय भूमिका खेल्नुपर्छ। गाउँ, टोल र समुदायस्तरमा सामाजिक सचेतना र निगरानी अभियान सञ्चालन गरी नशाको जरो उखेल्ने सामूहिक प्रयास गर्न आवश्यक छ। जसरी रोग बिउमै उखेलेर खेत बचाइन्छ, त्यसरी नै समाजले नशा उन्मूलनका लागि बिउमै रोकथाम गर्नुपर्छ।
नेपालको लागूऔषध (नियन्त्रण) ऐन, २०३३ ले लागुपदार्थको उत्पादन, ढुवानी, बिक्री र सेवनलाई पूर्ण रूपमा निषेध गरेको छ। ऐनले कैद र जरिवानाको व्यवस्था गरे पनि यसको प्रभावकारी कार्यान्वयन कमजोर देखिँदै आएको छ। यस कारण अपराधी निर्भीक भइरहेका छन्। अब प्रहरी, स्थानीय निकाय, विद्यालय र नागरिक समाजबीच सहकार्य गर्दै सशक्त संयन्त्र निर्माण गर्नु अपरिहार्य छ।
लागुपदार्थ नियन्त्रण कानूनी मात्र होइन, सामाजिक र नैतिक दायित्व पनि हो। हाम्रो समाजले आफ्ना सन्तानहरूलाई सुरक्षित भविष्य दिन सक्ने वातावरण बनाउनुपर्छ। विद्यालयहरूले उज्यालो बाटो देखाउनुपर्छ, र राज्यले दृढ कानूनी प्रतिबद्धता प्रदर्शन गर्नुपर्छ।
यदि आजैदेखि सबै तह र वर्गले लागुपदार्थविरुद्धको यो अभियानलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढाए, तब मात्र औरही पुनः नशामुक्त, सुरक्षित र स्वस्थ समाजका रूपमा पुनर्जीवित हुन सक्छ।




