विश्वासको मत सम्बन्धी कार्यसूचीअनुसार बुधबार बिहान बसेको प्रदेशसभा बैठकमा अनुपस्थित रहेका मुख्यमन्त्री सरोजकुमार यादव उपस्थित भएपछि स्थगित बैठक पुनः सुरु भएको छ।
बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने अनुमति दिएकी छिन्। अनुमति पाएसँगै मुख्यमन्त्री यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन्।




विश्वासको मत प्रक्रिया जारी रहँदा विपक्षी सात दलका सांसदहरू भने बैठकमा सभा हल खाली गर्दै बाहिरिए ।मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव राख्नु अघि मन्तव्य राखिरहेको समयमा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका हुन् ।

उनले सातदलीय गठबन्धनलाई लक्षित हुने गरी आफ्नो धारणा राख्न थालेपछि नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
सात दलका सांसदहरु सहभागी नभएकाले उनीहरूको सिटहरू खाली रहेकोछ। बैठकमा एमालेका सांसद मात्र उपस्थित थिए। त्यस्तै, राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी विमला अन्सारी पनि बैठकमा उपस्थित रहे।

यसअघि बिहान बसेको बैठकमा मुख्यमन्त्री यादव उपस्थित नहुँदा बैठक स्थगित गरिएको थियो।
२४ कात्तिकको झिसमिसे बिहानीमा यादवले मुख्यमन्त्रीको शपथ खाएका थिए । त्यसबाट असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा १५ मंसिरमा परमादेश जारी गरेको थियो ।मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा बैठकबाट बाहिरिए विपक्षी दलका सांसदहरू




