जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख डा सुरेन्द्र लाभले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेको हो।
दाबी पेस गर्ने अन्तिम समय शुक्रबार मंसिर १९ गते दिनको ५ बजेभित्रको समय दिइएको छ ।
निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ उपधारा १ को खण्ड क अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए, जुन आजै प्रदेश प्रमुखले स्वीकृत गरेका छन् ।





