जनकपुरधाम - मधेस प्रदेशमा सात राजनीतिक दलबीच भएको छलफलपछि नयाँ मुख्यमन्त्रीका विषयमा सहमति कायम भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले भोली शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेको म्यादभित्र नेतृत्व टुंग्याउन दलहरूको बैठक प्रदेशसभा सचिवालयमा बिहीबार बसेको थियो। बैठक पछि बाहिरिएका जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै भने, ' दलहरूबीच मुख्यमन्त्रीको विषयमा सहमती भइसकेको छ। ७ दल हामी एकमत छौ ।'
उनले मुख्यमन्त्रीको नाम आज सार्वजनिक गर्ने तयारी भएको बताए। उनका अनुसार सातै दलले भोलि दिउँसो २ बजे संयुक्तरूपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्ने योजना बनाएका छन्। यादवका अनुसार दलहरूबीच कुनै मतभेद नरही सहमति मै नयाँ नेतृत्व छानिएको छ। सहमति पुगेका दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी छन्।
मुख्यमन्त्रीका सम्भावित दावेदारमा लोसपाका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) र नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव रहेका छन्। यसअघि संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन प्रदेशसभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए। विश्वासको मत पाउने अवस्था नरहेको स्पष्ट भएपछि उनले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।




