आदित्य नेपाल
दुई सातादेखि जनकपुरधामकी बेबी देवी झा राम्रोसँग निदाएकी छैनन्। छोरीको मृत्यु वियोगमा उनी अचेतजस्तै छिन्। आँखाबाट प्रायः आँसु झरिरहन्छ, मुखबाट लवज निस्किँदैन। बोले पनि केवल एउटै वाक्य दोहोर्याउँछिन्, “मेरो छोरीलाई न्याय दिलाइदिनुस्।”
बेबी देवी कहिले जनकपुरको आन्दोलनस्थल मानिने जनक चोक पुगेर भुईंमा बसी दुई हात फैलाएर ‘न्यायको भिख’ माग्छिन्, कहिले जिल्ला प्रहरी कार्यलय धनुषाको गेटअगाडि बसेर बेस्सरी रून्छिन्। मंसिर ११ गते साँझ करिब पौने ७ बजे उनकी छोरी रोशनी झा रहस्यमय अवस्थामा आफ्नै घरमा मृत फेला परेकी थिइन्।
माइती पक्षले रोशनीको हत्या भएको दाबी गरिरहेका छन्। तर उनको परिवारले कहिले भर्याङबाट लडेर मृत्यु भएको र कहिले झुन्डिएर आत्महत्या गरेको भन्दै दुईथरी दाबी गरेका छन्।
आमा बेबी देवीका अनुसार, उनले मंसिर ११ गते साढे ४ बजेसम्म रोशनीसँग पटकपटक फोनमा कुरा गरेकी थिइन्। त्यो दिन अन्तिमपटक कुरा हुँदा रोशनीले आमालाई श्रीमान् घर आइपुगेको र चिया पकाउन जान लागेको बताएकी थिइन्।
“रोशनी व्रत बसेको हुनाले मैले रोटी पकाएर राखिदिन्छु लिन आऊ भनेको थिएँ। तर निकै बेरसम्म रोटी लिन नआएपछि मलाई चिन्ता हुन थाल्यो,” बेबी देवी भन्छिन्, “त्यतिकैमा ज्वाइँले फोन गरेर रोशनी भर्याङबाट लडेको भन्नुभयो। घर पाँच मिनेटकै दूरीमा भएकोले त्यहाँ पुग्दा रोशनी भुईंमा सुतेको देखेँ, शरीरमा कपडा ओढाइएको थियो।”
माइती पक्षले रोशनीलाई उनकै श्रीमान् प्रशान्त मिश्रले घाँटी थिचेर हत्या गरेको र आत्महत्या गरेको हल्ला चलाएको आरोप लगाएको छ। मृत शरीरलाई नै जनकपुरकै गोदावरी अस्पताल पुर्याएर उपचारको नाटक गरेको पनि माइती पक्षको आरोप छ। गोदावरी अस्पतालले भने रोशनीले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्ट दिएको छ।
शरीरमा चोटैचोटको दाग भएको र आत्महत्या गर्ने कुनै कारण नभएको माइती पक्षको दाबी छ। रोशनीका मामा अरविन्द झाका अनुसार, रोशनीलाई मृत अवस्थामा गोदावरी अस्पताल पुर्याइए पनि प्रशान्तका कान्छो भिनाजु डा. धिरज त्यहाँ पुगेर उपचारको ‘नाटक’ गरेका थिए। उनैले पोष्टमार्टम रिपोर्टमा चलखेल गरेको आशंका भएको उनी बताउँछन्।
प्रशान्तका आफन्त बब्लुकान्त झा पनि यो घटनामा सहभागी भएको दाबी गर्दै अरविन्द त्यही कारण आफूहरू सशंकित भएको बताउँछन्। “उहाँ (बब्लुकान्त) सिन्धुली कारागारमा कार्यरत हुनुहन्छ। आफूले यस्ता हत्याहरू धेरै पचाइसकेको भनेर घटनास्थलमै हामीलाई धम्की दिनुभयो,” उनी भन्छन्, “यस्तोमा हामी कसरी पोष्टमार्टम रिपोर्ट विश्वास गर्नसक्छौँ?”
पाँच वर्षअगाडि मात्रै ९ लाख दाइजो दिएर प्रशान्त मिश्रसँग रोशनीको विवाह भएको थियो। रोशनीको मृत्यु हुनु १५ दिनअगाडि पनि भवन निर्माणका लागि १५ लाख दिएको माइती पक्षको दाबी छ।
हाल श्रीमान् प्रशान्त धनुषा प्रहरीको हिरासतमा छन्। उनले घरका लागि सोफा किन्ने विषयमा रोशनीसँग सामान्य विवाद भएको स्वीकार गरेको प्रहरीले जनाएको छ। उनी मधेश प्रदेशको नीति तथा योजना आयोगमा शाखा अधिकृतको रूपमा कार्यरत छन्। उनीहरूका ४ वर्षको छोरा र २ वर्षकी छोरी छन्।
श्रीमानसहित केही व्यक्ति पक्राउ परे पनि न्याय पाउनेमा पूर्ण विश्वस्त नरहेको रोशनीका भाइ मनीष बताउँछन्। प्रहरीको भूमिका नै शंकास्पद भएको उनको दाबी छ। “हामी न्यायका लागि निरन्तर आन्दोलन गरिरहेका छौँ। जेजे गर्नुपर्छ गरिरहेकै छौँ र गरिरहन्छौँ,” उनी भन्छन्, “अहिले सीआईबीले केस हेर्न थालेपछि न्याय पाइन्छ कि भन्नेसम्म आशा पलाएको छ।”
धनुषा प्रहरीले अनुसन्धान थाले पनि माइती पक्षले दिनहुँ दबाबमूलक प्रदर्शन गरेपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली मंसिर २१ गते जनकपुर पुगेको छ। सीआईबीकै सक्रियतामा प्रहरीले बुधबार प्रशान्तका भिनाजु ४५ वर्षीय सचिन झा र उनका १५ वर्षीय छोरालाई पक्राउ गरेको छ।
रोशनीका भाइ मनीषका अनुसार, मृत शरीर अस्पताल लैजान सचिनले प्रशान्तलाई सघाएका थिए। सचिनका छोरा त्यो दिन बिहानदेखि नै घरमा उपस्थित थिए।
धनुषा प्रहरीका इन्स्पेक्टर मनोज यादव अहिले पनि रोशनीको मृत्युबारे अनुसन्धान चलिरहेको कारण केही बताउन नसकिने बताउँछन्। “पक्राउ परेकाहरूसँग सुक्ष्मरूपले सोधपुछ गरिरहेका छौँ। पोष्टमार्टम रिपोर्टमाथि पनि अनुसन्धान गरिरहेका छौँ,” इन्स्पेक्टर यादव भन्छन्, “१५ दिन जति भयो अनुसन्धान शुरू भएको। अझै एक हप्ता जति लाग्छ।”
अढाई वर्षदेखि न्यायको पर्खाइ
२०८० जेठ ७ गते साँझ साढे ६ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साहको रहस्यमय मृत्यु भयो। आरतीका बुबा विनोदप्रसाद साहलाई ‘तपाईंकी छोरीलाई सञ्चो नभएर काव्या हस्पिटलमा ल्याएका छौँ, अचेत अवस्थामा छिन्’ भनेर फोन गएको थियो।
जनकपुरमै पढ्न बसेकी कान्छी छोरी मनीषालाई सम्पर्क गरेर तुरुन्त अस्पताल पुग्न विनोदले भने। आरती अस्पतालको शय्यामा अचेत थिइन्। शरीरमा घाउचोट थियो। घाँटीमा डाम थियो। नजिक गएर खुट्टा छामिन्। शरीरमा कुनै चाल थिएन। आत्तिएकी उनले डाक्टरलाई सोधिन्, “के भएको हो मेरी दिदीलाई?”
डाक्टरले जवाफ दिए, “यहाँ ल्याउनुअघि नै तपाईंकी दिदीको मृत्यु भइसकेको थियो।”
आरती दुईमहिने सुत्केरी थिइन्। जनकपुरको काव्या अस्पतालले उनको मृत्युको कारण ‘ह्यांगिङ’ (झुन्डिएको, सम्भावित आत्महत्याको प्रकृति) भनेर पोस्टमार्टम रिपोर्ट दिएको थियो। माइती पक्षले पोष्टमार्टम रिपोर्ट नपत्याई हत्या भएको दाबी गरे। जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दिए।
तर तत्कालीन एसपी विश्वराज खड्का र डीएसपी वेदप्रकाश गौतमले उल्टै पीडित परिवारलाई बयानका लागि बोलाएर कुटपिट गरी रातभरि थुनेका थिए। जिल्ला सरकारी वकिल कार्यालय धनुषाले असार १ गते धनुषा जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गर्यो। अदालतले असार ५ गते आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।
प्रहरीले अनुसन्धानमा चासो नदेखाएको भन्दै यसबीचमा पीडित परिवारले काठमाडौँको माइतीघर मण्डल आएर धर्ना पनि दिएका थिए। तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गरिदियो।
परिवारका सदस्यले अस्पतालको पोष्टमार्टम रिपोर्ट कैफियतपूर्ण रहेको दाबी गरिरहेका थिए। भदौ ३ गते नेपाल मेडिकल काउन्सिलले पनि प्रादेशिक अस्पताल जनकपुरले बनाएको पोष्टमार्टम रिपोर्ट त्रुटिपूर्ण रहेको सार्वजनिक गर्यो।
“कोठामा मृतक झुन्डिएको भनी उल्लेख गरिए तापनि उक्त कागजमा गालामा भएको एउटा चोट र घाँटीमा स्पष्ट देखिएको डामका बारेमा केही लेखिएको छैन,” काउन्सिलको रिपोर्टमा भनिएको छ, “पोस्टमार्टम रिपोर्टमा पनि पोसिबल सुसाइड इन नेचर (सम्भावित आत्महत्याको प्रकृति) भनी राय व्यक्त गरेको हुँदा यस्तो राय दिन नमिल्ने भनी जानकारी भएको र यो गलत राय रहेछ भनी त्रुटि भएको भनी निजको पोस्टमार्टममा संलग्न चिकित्सकहरूलाई सचेतसहित अन्तिम चेतावनी दिइन्छ।”
यता जिल्ला सरकारी वकिल कार्यालयले पनि उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। मंसिर २० गते न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले काउन्सिलकै रिपोर्टलाई मुख्य आधार बनाएर उच्च अदालतको आदेश उल्ट्यायो।
सर्वोच्चले श्रीमान् मोतीबाबुलाई पुनः थुनामा पठाउने आदेश दियो। प्रारम्भिक प्रमाणका आधारमा हत्यामा मोतिबाबुको संलग्नता देखिएको आदेशमा उल्लेख छ। ससुरा मदनमोहन ब्याहुत सुडीलाई भने १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश सुनायो।
“घटनास्थल मुचुल्काबाट घटना भएको कोठामा भुइँदेखि छतसम्म १० फिट र पलङको सतहदेखि सिलिङ फ्यानको उचाइ सात फिट पाँच इन्च रहेको देखिएकोमा मृतकले झुन्डिने प्रयोजनका लागि कुनै टुल, मेच वा अन्य कुनै वस्तु प्रयोग गरेको भन्ने पनि देखिँदैन,” सर्वोच्चको आदेशमा भनिएको छ।
यो घटनामा पनि प्रहरी मुख्यालयबाट एउटा टोली र सीआईबीको अर्को टोलीले जनकपुर पुगेर अनुसन्धान गरेको थियो। तर दुवै छानबिन समितिको रिपोर्ट हालसम्म सार्वजनिक गरिएको छैन।
पीडित परिवारले माइतीघरमा करिब १० महिना निरन्तर धर्ना दिएपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले पीडितलाई कानून बमोजिम कारबाही गर्ने आश्वासन दिएर सम्झौता गरे। अनि मात्र उनीहरूले माइतीघर छाडेका थिए।
आरतीको मृत्यु भएको साढे दुई वर्ष बितिसके पनि परिवार न्यायकै पर्खाइमा छ। आरतीका भाइ धीरजका अनुसार उनीहरू अझै साप्ताहिक रूपमा धनुषा जिल्ला अदालत धाइरहेका छन्।
“न्याय कहिले पाउने भन्ने अझै टुंगो छैन, पक्राउ परेका मेरो दिदीका श्रीमान् सिन्धुली कारागारमा थिए। जेन–जी आन्दोलनका बेला उनी पनि भागेछन्,” धीरज भन्छन्, “फेरि कहिले समातिन्छन् भनेर प्रहरीमा बुझ्दा चित्तबुझ्दो जवाफ पाएका छैनौँ।”
महिला हिंसामा किन ‘गोलमटोल अनुसन्धान’?
लेखक तथा महिला अधिकारकर्मी रिता साहका अनुसार, पीडित पक्षभन्दा पीडकहरू आर्थिक र सामाजिक रूपले बलिया भएकै कारण मधेशमा न्याय प्रक्रिया अनिश्चित हुने गरेको छ। देशैभरि पितृसत्तात्मक सोच हाबी रहँदा मधेशमा त्यसले अझ धेरै जरा गाडेको कारण पनि न्याय सहज नभएको उनी बताउँछिन्।
“मुद्दा दर्ता गराउने बेलादेखि अगाडिको प्रक्रियासम्म नै दबाब र प्रभावको राजनीति शुरू हुन्छ। एक त कानूनको ज्ञानै हुँदैन, भए पनि पहुँच हुँदैन। प्रक्रिया पनि झन्झटिलो भएका कारण पीडितहरूले सहजै न्याय पाउन सकेका छैनन्,” उनी भन्छिन्, “प्रहरी प्रशासन महिलामैत्री छैनन्, उहाँहरूमा पनि पितृसत्तात्मक मनोविज्ञान हाबी हुँदा पीडितले न्यायको आशा गर्न नसक्ने स्थिति छ।”
अर्की महिला अधिकारकर्मी जमुना भुजेल पनि मधेशमा महिला अझैसम्म उत्पीडन र शोषणको पासोबाट मुक्त नभएकै कारण न्यायबाट पनि बञ्चित भएको बताउँछिन्। आफूहरूले निरन्तर आवाज उठाइरहँदा पनि न्याय प्रक्रियामा कुनै सकारात्मक र प्रभावकारी बदलाव आउन नसकेको उनको भनाइ छ।
“हामी त दिनरात महिलाहरूकै समस्या र न्यायका लागि बोलिरहने मान्छे हौँ। तर मधेशमा महिलाउपर हिंसामा कुनै ह्रास आएको छैन,” उनी भन्छिन्, “यसमा केवल हाम्रो प्रशासन र कानून मात्रै होइन, समाजका सबै तप्का उत्तिकै जिम्मेवार छन्। जबसम्म सिंगो समाज नै चेतनशील बन्दैन, महिलामाथिको अन्याय रोकिँदैन।”-उकालो डटकम




