महोत्तरी - महोत्तरीको औरही नगरपालिकाबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार औरही नगरपालिका–१ स्थित औरही बजार नजिक बर्दिवास–जलेश्वर सडक खण्डबाट ठूलो परिमाणको लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा आइतबार साँझ ईलाका प्रहरी कार्यालय, गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा ईलाका प्रहरी कार्यालय रामगोपालपुर तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
शङ्कास्पद अवस्थामा दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकी जाँच गरे पछि सम्सी गाउँपालिका–६ का २१ वर्षीय शेष तनबिरले चलाइरहेको BR30AQ2285 नम्बरको भारतीय मोटरसाइकल र त्यसमा पछाडि सवार भारत बिहार राज्य, सितामढी जिल्ला, बेला थाना–६ का २२ वर्षीय राजु कुमार तथा अर्काे BR30W0324 नम्बरको यमाहा कम्पनीको भारतीय नम्बरको मोटरसाइकल चालक सम्सी गाउँपालिका–६ कै २१ वर्षीय मुसाहिददुल इस्लाम र त्यसमा पछाडि सवार भारत बिहार राज्य, सितामढी जिल्ला, बेला थाना–६ कनवा निवासी २१ वर्षीय अरबिन्द कुमार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खानतलासीका क्रममा कालो प्लास्टिकको झोलाभित्रबाट प्रतिबन्धित लागू औषध डाइजेपाम (Diazepam) २ एमएलका ४७४ थान, बुप्रेनोर्फिन (Buprenorphine) २ एमएलका ४८४ थान र प्रोमेथाजिन हाइड्रोक्लोराइड (Phenergan) २ एमएलका ४७८ थान गरी जम्मा १ हजार ४ सय ३६ थान एम्पुल को साथै नगद नेपाली रुपैयाँ १४ हजार ९ सय र चार थान मोबाइल फोन समेत बरामद गरिएको छ।
बरामद लागू औषध, मोटरसाइकल तथा अन्य सामग्री सहित पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय, गौशालामा राखिएको जिल्ला प्रहरीले जनाएको छ।




