जनकपुरधाम- सशक्त खोज पत्रकारिताको प्रतीकका रूपमा चिनिएकी पत्रकार उमा सिंहको निर्मम हत्या भएको आज १७ वर्ष पूरा भएको छ । २०६५ साल पुस २७ गते जनकपुरधाम उपमहानगरपालिका–४ रजौलस्थित आफ्नै डेरामा धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको थियो । उक्त घटना नेपाली पत्रकारिता इतिहासकै जघन्य अपराधमध्ये एकका रूपमा लिइन्छ ।
लामो कानुनी प्रक्रिया पश्चात् धनुषा जिल्ला अदालतले यो घटनालाई योजनाबद्ध हत्या ठहर गर्दै मुख्य अभियुक्तहरूलाई दोषी ठहर गरिसकेको छ । अदालतका अनुसार उमाकी भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको पुष्टि भएको थियो भने ‘स्वामीजी’ भनिने उमेश यादवले ललितासँग मिलेर हत्या योजना बनाएको ठहर भएको थियो । यादवलाई अदालतले जन्मकैदको सजाय सुनाइसकेको छ ।
उमा सिंह हत्या प्रकरणमा उमाकी भाउजू ललिता सिंह, ललिताका छोरा अभिषेक सिंह, सिरहाको रामपुरका श्रवणकुमार यादव, धनुषा लक्कडका नेमलाल पासवान, बल्हा सघाराका उमेश यादव (स्वामीजी), सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव र बिन्दु यादव, भारत सीतामढी नरहा कटरहियाका वैद्यनाथ सिंह तथा उनका छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भनिने सुमेश्वर यादव, र महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध अभियोग पत्र दायर गरिएको थियो ।
२०६८ जेठ २६ गते धनुषा जिल्ला अदालतका तत्कालीन न्यायाधीश विमलप्रसाद ढुङ्गेलको इजलासले ललिता सिंहलाई जन्मकैद तथा नेमलाल पासवानलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । यद्यपि, ललिता सिंहले पछि राष्ट्रपतिबाट आममाफी पाइसकेकी छन् भने पासवान अझै फरार रहेका छन् ।
उमा सिंहको १७औँ स्मृति दिवस आइपुग्दा पनि उनको हत्या विरुद्ध निरन्तर आवाज उठ्नुपर्ने पत्रकारिता क्षेत्र नै मौन देखिएको छ । हत्या भएको समयमा उनको नाम भजाएर चर्चा र लाभ लिनेहरू आज उनको स्मृतिदिनसम्म बिर्सिएको अवस्था देखिन्छ । न त प्रभावकारी स्मृति कार्यक्रम, न त न्याय र प्रेस स्वतन्त्रताको सवालमा सशक्त आवाज उठेको देखिन्छ ।
खोज पत्रकारिताका क्रममा शक्तिशाली समूहहरूको निशानामा परेकी उमा सिंह आज पनि न्याय, निर्भीक पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको प्रतीकका रूपमा स्मरणीय छिन् । तर, उनको स्मृतिमा देखिएको मौनताले नेपाली पत्रकारिता क्षेत्रको आत्मसमीक्षा आवश्यक रहेको प्रश्नलाई गम्भीर रूपमा उठाएको छ ।




