अर्जुन साह,सिमरा - “सक्षम बालिका, समृद्ध मधेस” भन्ने मूल नाराका साथ मधेस प्रदेशस्तरीय बालविवाहविरुद्धको सञ्जालको आयोजनामा मधेस बालिका सम्मेलन २०८२ सम्पन्न भएको छ। हाम्रो प्रयास, सखी, लाइफ नेपाल, महिला सचेतना समूह, दलित विकास फोरम, मुक्ति नेपाल र परिकल्पना नेपालको सह–आयोजनामा जितपुर–सिमरा उपमहानगरपालिकामा पुस २९ र ३० गते दुई दिनसम्म सम्मेलन आयोजना गरिएको हो।बालविवाह, दाइजो प्रथा तथा समाजमा विद्यमान हानिकारक अभ्यासको अन्त्य गर्दै बालिकाको अधिकार संरक्षण र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कार्यक्रम संयोजक प्रशंसा सिंहले जानकारी दिनुभयो।

सम्मेलनको उद्घाटन सत्र बालिका सम्मेलन मूल आयोजक समितिकी अध्यक्ष सन्ध्या पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जितपुर–सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनुभएको थियो। विशिष्ट अतिथिमा नीति तथा योजना आयोगकी सदस्य माननीय रिना यादव सहभागी हुनुहुन्थ्यो। साथै इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कडेल, इलाका प्रहरी कार्यालयका प्रमुख बेदप्रकाश जोशी, महिला अधिकारकर्मी निभा सिंह, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

सम्मेलनमा मधेस प्रदेशका सबै जिल्लाबाट करिब एक सय जना बालबालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न मधेस प्रदेश सरकारले शुभकामना सन्देश पठाएको थियो। सन्देशमा बालबालिका भविष्यका आशामात्र नभई परिवर्तनका अग्रदूत भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, लैङ्गिक न्याय तथा प्राविधिक सुरक्षामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पौडेलले मधेस बालिका सम्मेलन स्थानीय तहमा आयोजना हुनु गौरवको विषय भएको बताउँदै अझै पनि मधेसमा बालिका दाइजो प्रथा, बालविवाह तथा हिंसाका घटनाबाट प्रभावित भइरहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता सम्मेलनले बालिकाको नेतृत्व विकास र सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
दुई दिने सम्मेलनमा बालबालिकाबीच अनुभव आदान–प्रदान गरिएको थियो भने आगामी रणनीति निर्माण, मानसिक स्वास्थ्य हेरचाह तथा स्वहेरचाह, डिजिटल सुरक्षा लगायतका विषयमा छलफल गरिएको हाम्रो प्रयास संस्थाका प्रबन्धक ओमप्रकाश गिरिले जानकारी दिनुभयो।सम्मेलनका क्रममा बालिकाहरूले बालविवाह, दाइजो प्रथा तथा हिंसाविरुद्ध सचेतनामूलक सडक नाटक, सामूहिक बहस तथा विविध कार्यक्रम प्रस्तुत गर्दै सम्मेलन सम्पन्न गरेका छन्।





