काठमाडौं - बालेन शाहलाई मधेशमा ‘लन्च’ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामबाट चुनावी यात्राको सुरुवात गरेको छ । करिब चार वर्षअगाडि काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि बालेन सोमबार पहिलोपटक राजनीतिक कार्यक्रममा देखिए ।
आँखामा कालो चस्मा, काँधमा राष्ट्रिय झण्डा भिरेर ‘हामी आयौँ’ भन्दै रास्वपा सभापति रवि लामिछानेसँगै मञ्चमा उक्लिएका बालेनले जनकपुरबाट आफू पहिलो मधेशी प्रधानमन्त्री बन्ने दौडमा निस्केको सन्देश दिएका छन् ।
रास्वपाले बालेन बालेनलाई पहिलो मधेशी प्रधानमन्त्रीका रूपमा ब्रान्डिङ गर्न खोजेको छ । यही कारण रास्वपाको मञ्चमा उक्लिएका सबै नेताले ‘अबकी बार बालेन सरकार’ भन्न छुटाएनन् । लामिछाने, स्वर्णिम वाग्ले, सोविता गौतम, मनिष झा र पुराना कांग्रेसी नेता तथा रास्वपामा नवप्रवेशी अमेरश सिंह लगायतका नेताले ‘अबकी बार बालेन सरकार’ भन्ने नारा बारम्बार दोहोर्याए ।
बालेनलाई हेर्न आएका जनताले त झन् कार्यक्रम सुरु भएदेखि समाप्त भइसकक्दासम्म ‘अबकी बार बालेन सरकार’ र ‘बालेन, बालेन’ भन्दै नारा लगाइरहे । रवि लामिछानेले भाषण गरिरहँदा पनि जनताले भने ‘बालेन, बालेन’को नारा लगाइरहे ।
रास्वपाको जनकपुर कार्यक्रममा मञ्चमा कसैका लागि पनि कुर्सी थिएन । सबै जना भूइँमा पलेटी कसेर बसेका थिए । कार्यक्रममा जति जनाले सम्बोधन गरे ती सबैले मधेशका छोराको हातमा देशको बागडोर दिनुपर्छ । अब देश मधेशका छोराले चलाउनुपर्छ भन्दै बालेन र मधेशको साइनो स्थापित गर्ने प्रयास गरे ।
बालेनको ब्रान्डिङसँगै रास्वपाले मधेशमा पनि आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ ।
२०७९ को चुनाव को केही महिनाअघि मात्र दलको रूपमा उदाएको रास्वपाले उक्त निर्वाचनमा मधेश प्रदेशबाट १ लाख ७ हजार मत पाएको थियो । बालेनलाई प्रधानमत्रीको रूपमाअगाडि सारेर रास्वपाले उनको लोकप्रियता भजाउन खोजेको त छ नै, मधेशका मतदातालाई आफ्नो पक्षमा पार्न र आफू मधेशको पक्षमा छु भनेर देखाउन पनि खोजेको छ ।
बालेनलाई ‘मधेशपुत्र’, ‘मधेशी मुलको पहिलो प्रधानमन्त्री’का रूपमा प्रचार गरिरहेको छ, रास्वपाले ।
मधेशमा आफ्नो प्रभाव विस्तार गर्न भनेरै रास्वपाले आफ्नो चुनावी अभियान जनकपुरबाट सुरु गरेको बुझ्न गाह्रो छैन । मधेशमा बालेनलाई ‘लन्च’ गर्नका लागि रास्वपाले बलिदानी दिवसको छेको पार्यो ।
१९ वर्षअगाडि २०६३ मा भएको मधेश आन्दोलनमा मारिएका शहीदको सम्झनामा मधेशले बलिदान दिवस मनाउँदै आएको छ । मधेशको यही ‘सेन्टिमेन्ट क्यास’ गर्न भनेर मधेश आन्दोलनका शहीद रमेश महतोको सालिकमा माला लगाउन पुगे ।
मधेशमा बालेन बालेनको क्रेज देखेपछि रास्वपा सभापति पनि खुसी नै देखिए । अघिल्लो चुनावमा मधेशमा आफूहरूले समय दिन नपाए पनि यसपटक भने रास्वपाको मधेशमा बलियो उपस्थिति देखिने दाबी गर्दै रवि लामिछानेले भने, ‘देर आए दुरुस्त आए’ भने जसरी मधेशमा आएका छौँ ।’
मधेश पुगेको रास्वपाले संघीयताबारे मधेशलाई चिढ्याउन चाहेन । रास्वपाले आफू संघीयताकै पक्षमा रहेको सन्देश पनि दियो । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टी संघीयता र प्रदेश सरकारलाई बलियो बनाउने पक्षमा रहेको दाबी गर्दै संघीयताबारे मधेशलाई विश्वस्त तुल्याउन खोजे ।
रास्वपाका ‘प्रोजेक्टेड’ प्रधानमन्त्री बालेनले पनि मैथली भाषामा सम्बोधन गर्दै आफू ‘मधेशकै पुत्र’ भएको सन्देश दिए । संघीयताबारे वाग्लेभन्दा एक कदम अगाडि सरेर उनले भने, ‘काठमाडौं अधिकार माग्न जाने होइन, पशुपतिनाथ, स्वयंभू घुम्न जाने हो ।’ अबदेखि प्रमुख प्रशासकीय अधिकृत माग्न काठमाडौं होइन, मधेश प्रदेशको राजधानी जनकपुर आउनुपर्छ भन्दै बालेनले प्रदेश सरकार बलियो बनाउने पक्षमा आफू रहेको सन्देश दिए ।
नेपाली कांग्रेसबाट स्वतन्त्र हुँदै रास्वपा छिरेका अमरेश सिंह जनकपुरमा बालेन शाहका ‘गाइड’ जसरी प्रस्तुत भए । आफूलाई बालेन र रविको सिपाही घोषणा गर्दै अमरेशले त ‘बालेन शाह प्रधानमन्त्री नभए आत्मदाह’ गर्ने घोषणा नै गरिदिए ।
बालेन पनि के कम, उनले त झन् आफूलाई काम गर्ने ठाउँ (प्रधानमन्त्री) मा पुर्याएमा देशभर समाजवाद लागु गर्ने दाबी गरे । काठमाडौं महानगरमा बर्सेनि २० हजार विद्यार्थीर्लाइ छात्रवृत्ति दिएर महँगा विद्यालयमा पढाएको, अस्पतालमा १० प्रतिशत छुट दिलाएर समाजवाद लागू गरेको दाबी थियो, बालेनको । तर, निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने संघीय कानुनकै व्यवस्था हो । यो कानुन कार्यान्वयनलाई उनले महानगरअन्तर्गत ल्याएर यसलाई महानगरबाट गराएको जस्तो प्रचार गरे । अस्पतालले गरिबका लागि बेड छुट्याउनुपर्ने व्यवस्था पनि संघीय कानुनकै हो । यसमा पनि उनले महानगरले गरेजस्तो जस लिने अन्य नेताहरूकै शैलीमा प्रयास गरे । यस्तै समाजवाद अब सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा पुर्याउन चाहेको सपना पनि सुनाए, बालेनले ।
‘मधेशको छोरा पनि प्रधानमन्त्री बन्न सक्छ, मधेशी पनि प्रधानमन्त्री बन्न सक्छ’ भनेर काठमाडौंमा जन्मिएका र हुर्किएका ३५ वर्षीय बालेनले आफ्नो पहिचानमा मधेश जोडे । मधेशबाट ब्रान्डिङ गरिए पनि बालेन चुनाव लड्न भने पूर्वी नेपालको झापा-५ जाँदै छन्, जहाँ उनको प्रतिस्पर्धा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुनेछ ।




