ढल्केबर, धनुषा । केही दिनअघि पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेका नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य महेशकुमार बस्नेत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । सोमबार धनुषाको ढल्केवरमा आयोजित नेपाली कांग्रेस मिथिला नगरपालिका नगर कार्यसमितिको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा उहाँ औपचारिक रूपमा कांग्रेसमा प्रवेश हुनुभएको हो ।
बस्नेतसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला सदस्य राजकुमार थापा र तत्कालीन नेकपा माओवादी केन्द्रबाट मिथिला नगरपालिका–१० का वडा अध्यक्ष प्रत्याशी शिवकुमार घिमिरेले पनि आ–आफ्नो पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । यसैगरी, जनता समाजवादी पार्टी, नेपाली कम्युनिस्ट पार्टी तथा वाइसिएलका सदस्यहरू समेत गरी करिब एक सय जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, महेन्द्र यादव, जिल्ला सभापति योगेन्द्रप्रसाद साहलगायतका नेताहरूले अबिर र माला लगाएर पार्टीमा स्वागत गनगर्नुभएको थियो । कार्यक्रममा कांग्रेस नेताहरूले पछिल्लो समय विभिन्न दलबाट कांग्रेसप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै संगठनलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेस प्रवेशपछि बोल्दै महेशकुमार बस्नेतले एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको, कार्यकर्ताको आवाज सुन्ने संस्कार नभएको तथा स्थानीय तहका जनसमस्याप्रति नेतृत्व गम्भीर नदेखिएको कारण एमाले परित्याग गर्न बाध्य भएको बताउनुभयो ।




