महोत्तरी - महोत्तरीको बर्दिबासमा बुधबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुभ स्वस्तिक अस्पताल अगाडि पूर्वतर्फबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१९ प–३१०३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको पिकअप गाडी नजिकिँदा चालकले नियन्त्रण गुमाएर लड्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बर्दिबास नगरपालिका–१४ का शैलेश मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा साँझ करिब ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
सोही मोटरसाइकलका चालक बर्दिबास–१४ कै अबिनाश खड्का घाइते भएका छन्। अस्पतालका अनुसार खड्काको खुट्टा भाँचिएको छ भने उनको अवस्था सामान्य रहेको छ।दुर्घटनापछि बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री अस्पताल पुगेका थिए। उनले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

यसैबीच, दुर्घटनापछि भएको सम्पूर्ण उपचार खर्च शुभ स्वस्तिक अस्पतालले निशुल्क बेहोर्ने निर्णय गरेको अस्पताल प्रशासनले जनाएको छ।




