महोत्तरी — महोत्तरीको गौशाला नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को बुधबार औपचारिक उद्घाटन गरिएको छ।शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन एक विशेष कार्यक्रमकाबीच नगर प्रमुख डा. दिपेन्द्र महतोले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख महतोले खेलकुद केवल जित–हारको विषय नभई जीवन अनुशासन, सहकार्य र नेतृत्व विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो। “पढाइसँगै खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउन सके स्वस्थ, सक्षम र अनुशासित नागरिक उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो। उहाँले नगरपालिकाले विद्यालयस्तरमै खेल संरचना सुदृढ गर्ने, प्रशिक्षक व्यवस्थापन गर्ने तथा नियमित प्रतियोगितामार्फत प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिनुभयो। साथै, स्थानीय तहबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेलकुद क्षेत्रमा लगानी बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा शिक्षा शाखा संयोजक संजय महतोको अध्यक्षता रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि ओमबहादुर अधिकारी, वडा नम्बर ४ का अध्यक्ष रामु महासेठ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकाहरू तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।उद्घाटन समारोहमा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा अनुशासित मार्चपास्ट प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
आयोजकका अनुसार प्रतियोगितामा सामुदायिक र निजी गरी जम्मा १८ वटा विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत एथलेटिक्ससहित विभिन्न खेल विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, खेल भावना र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।




