महोत्तरी - परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीका सिमावर्ती क्षेत्रको अनुगमन गर्नुभएको छ ।
बुधबार सदरमुकाम जलेश्वर आइपुग्नुभएका मन्त्री शर्माले सिमावर्ती गाउँ मलिवाडा र नैन्हीस्थित मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको हो । अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै उहाँले आसन्न निर्वाचनका लागि सुरक्षाकर्मी र निर्वाचन अधिकृतहरूको तयारी कस्तो अवस्थामा छ भन्ने बुझ्न महोत्तरी आएको बताउनुभयो ।
मन्त्री शर्माले फागुन २१ गते हुने निर्वाचनमा सुरक्षाकर्मी र जनप्रतिनिधिहरूको भूमिका समान रूपमा महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । “महोत्तरी आउनुको मुख्य उद्देश्य निर्वाचनका लागि नेपाल सरकारले के–कस्तो सहयोग गर्नुपर्छ, कुनै किसिमको कठिनाइ छ कि छैन भन्ने बुझ्नु हो,” उहाँले भन्नुभयो ।
निर्वाचनलाई भयरहित र व्यवस्थित बनाउन सम्भावित अवरोधको अवस्था बुझ्न अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री शर्माले समग्र अवस्था सामान्य रहेको धारणा राख्नुभयो । “नेपालतर्फका सशस्त्र प्रहरी र भारततर्फका एसएसबीबीच समन्वय राम्रो रहेकोले चुनावमा नकारात्मक असर पर्ने जस्तो देखिँदैन,” उहाँले भन्नुभयो ।
निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पार्दै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा उहाँले जिल्लाका सुरक्षा अधिकारीहरूलाई निर्वाचनलक्षित आवश्यक निर्देशनसमेत दिनुभएको थियो । साथै, जिल्लामा निर्वाचनलाई लक्षित गरी तयार गरिएको सुरक्षा योजनाबारे पनि जानकारी लिनुभएको छ ।
अनुगमनका क्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवसहितका सुरक्षा अधिकारीहरूले जिल्लाको चुनावी सुरक्षा तयारीबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए । प्राप्त विवरणअनुसार जिल्लाका १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ मतदानस्थललाई संवेदनशील र ६ मतदानस्थललाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नं. १ मा २५, क्षेत्र नं. २ मा ३७, क्षेत्र नं. ३ मा ४१ र क्षेत्र नं. ४ मा ३६ गरी कुल १३९ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य दुईसहित कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ ।




