जनकपुरधाम – मधेश देशका सबैभन्दा बढी मतदाता भएको प्रदेश हो । र, चुनावैपिच्छे प्रतिस्पर्धीबीचको खुम्चिँदो मतान्तरका कारण प्रत्येक पटक पेचिलो प्रतिस्पर्धा झेल्नुपर्ने नियति यहाँको छ ।
मतदाता बढीसँगै तिनका व्यवहार पनि अस्थिर देखिन्छ । उम्मेदवारका ‘दल बदल’ प्रवृत्तिले हरेक चुनावका दृश्य रोचक हुने गरेका छन् । यसपटक पनि मधेशको चुनावी माहोल यस्तै छ । विगतका निर्वाचमा धनुषाका २ र ४, सर्लाहीको ३, बाराको २ र पर्साको ३ नम्बर क्षेत्रमा हजार मतभन्दा कमको अन्तरले हार-जित भएको थियो । यसपटक अझ बढी क्षेत्रमा त्यस्तो सम्भावना देखिँदैछ ।



धनुषा- २ : १५७ ले उल्टिएको नतिजा
धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव र नेकपा (एमाले) का उमाशंकर अरगरियाबीच कडा प्रतिस्पर्धा भयो । यादवले २०११२ मत ल्याउँदा अरगरियाले १९९५५ मत प्राप्त गरे । १५७ मतान्तरका कारण प्रदेशमै सबभन्दा रोचक प्रतिस्पर्धा चल्यो । नतिजापछि अदालतमा मुद्दा पुग्यो ।
उनै अरगरिया यसपटक पनि मैदानमा छन् । कांग्रेसले उम्मेदवार परिवर्तन गरी दिनेशप्रसाद यादव परसैलालाई खडा गरेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका पशुपति यादव छन् । यी तीनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
धनुषा-४ : १२४ ले ‘हाईप्रोफाइल’ फैसला
२०७९ मा एमाले सचिव रघुवीर महासेठ र कांग्रेसका महेन्द्र यादवबीच प्रतिस्पर्धा हुँदा महासेठ ३२२३६ मतका साथ जित निकाल्न पुग्दा यादव ३२११२ मा रोकिए । यो १२४ को मतान्तरले यसपटक पनि दुबैलाई झस्काइरहेको छ । यसपटक पनि त्यहाँ यिनै दुई प्रतिस्पर्धी छन् । दुबै उम्मेदवार आ-आफ्ना पार्टीका प्रभावशाली नेता हुन् ।
सर्लाही– ३ को सरगर्मी : काजीको इन्ट्रीले कलवारको ‘मूभ’
सर्लाही- ३ झिनो मतान्तरले जित-हार तय भएको अर्को क्षेत्र हो । अघिल्लो निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती र माओवादी केन्द्रका नरेन्द्र साह कलवार मुख्य प्रतिस्पर्धी थिए । यसपटक तत्कालीन माओवादी केन्द्रका नेता तथा हाल नेकपाका नेता नारायणकाजी श्रेष्ठ उक्त दलको तर्फबाट उम्मेदवार छन् । आफूभन्दा ‘हेभिवेट’ उम्मेदवार आउँदा कलवार दल बदलेर मैदानमा छन् ।
अघिल्लो निर्वाचनमा उप्रेतीले ३२९३८ मतका साथ विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी कलवार ३२१६८ मा रोकिएका थिए । यसपटक दुबै मैदानमा छन् र त्यही मैदानमा राष्ट्रिय राजनीतिका ‘खेलाडी’ मानिने नारायणकाजी थपिएका छन् । उप्रेती र कलवार अघिल्लोपटक हासिल ७७० को मतान्तर बढाउने प्रयासमा हुँदा ‘हार्ने छूट छैन’ भन्दै नारायणकाजी मैदानमा डटेका छन् ।
बारा- २ : ‘उपराष्ट्रपति’ पछि उपेन्द्र यादवलाई जिताउने क्षेत्र सुनसान
२०७९ को चुनावपछि बाराको २ नम्बर देशकै चर्चा र महत्वको क्षेत्र बन्यो । जित्ने रामसहायप्रसाद यादव चुनावलगत्तै मुलुुकको उपराष्ट्रपति भए । रिक्त भएको सांसदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार भए, चुनाव पनि जिते ।
जसपा उम्मेदवार यादवले १३८२२ मत प्राप्त गर्दा तत्कालीन माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहले १३४६८ मतका साथ पराजय व्यहोरे । यो मतान्तर ३५४ को थियो ।
उपनिर्वाचनमा जसपा अध्यक्ष यादव उम्मेदवार हुँदा माओवादी केन्द्रका कुशवाह फेरि उम्मेदवार बने, तर जनमत पार्टीबाट । उनले केही महिनाकै अन्तरमा दोस्रो पराजय व्यहोरे । अघिल्लो पटकको ३५४ मतान्तरलाई घटाउने त टाढाको कुरा, दोस्रो प्रतिस्पर्धामा मतान्तर बढेर ५०८१ पुग्यो । यादव २८४२५ मतका साथ निर्वाचित हुँदा कुशवाह २३३३४ मा रोकिए ।
बाराबाट उपचुनाव जितेका जसपा नेपालका अध्यक्ष यादव यादव अहिले सप्तरी- ३ बाट चुनावी मैदानमा उभिएका छन् । बारा- २ मा त्यहीँका रामकिशोर यादव जसपा नेपालका उम्मेदवार छन् । पूर्वप्रतिस्पर्धी कुशवाहचाहिँ यसचोटि फेरि दल बदलेर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मैदानमा छन् ।
यसपटक यो क्षेत्रमा अघिल्लो चुनावमा जस्तो ‘चमकधमक’ छैन ।
पर्सा–३ : १६७ मतान्तरले मन्त्री, त्यसपछि जेल
पर्सा ३ मा एमालेका राजकुमार गुप्ता २४३१९ मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई २४१५२ मतमा रोकेर जित निकालेका थिए । यो मतान्तर १६७ को मात्र थियो ।
यस क्षेत्रबाट विजयी गुप्ता मन्त्री बने । तर, पोखराको लिच्चीबारी काण्डमा परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दापछि उनी जेल चलान भए । अहिले ‘ड्रपआउट’ छन् ।
यसपटक एमालेले यहाँ नवप्रवेशी रुपेशकुमार पाण्डेयलाई उम्मेदवार बनाएको छ । उनी चुनावको मुखैमा नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् । र, कांग्रेसबाट पुरानै उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी मैदानमा छन् ।
सानो मतान्तर, ठूलो सन्देश
यी परिणामले मधेश प्रदेशमा पुराना दलको प्रभाव अझै बलियो भए पनि मतदाताको झुकाव अत्यन्तै विभाजित रहेको देखाउँछ । सानो मतान्तरले जित-हार तय हुनु मतदाताको असन्तुष्टि, स्थानीय मुद्दाको प्रभाव र उम्मेदवारको व्यक्तिगत छविको महत्व बढ्दै गएको संकेत हो ।




