काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदाता परिचयपत्र नभए पनि मतदाता नामावलीमा दर्ता भएको खण्डमा अन्य सरकारी कागजात लिएर मतदान गर्न सकिने व्यवस्था निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमार्फत प्राप्त प्रश्नको जवाफ दिँदै मतदाता परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) मध्ये कुनै एक कागजात लिएर मतदान गर्न सकिने जानकारी दिएको हो ।
आयोगका अनुसार मतदान गर्नका लागि सर्वप्रथम मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ । नाम दर्ता भएका मतदाताले सामान्यतया मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र लिएर जानुपर्ने व्यवस्था छ ।
तर, परिचयपत्र नभएको अवस्थामा माथि उल्लेखित वैध सरकारी कागजात लिएर गएमा मतदाता आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्नेछन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते देशभर सञ्चालन हुने निर्वाचनमा मतदातालाई मतदानका लागि आवश्यक कागजात साथमा लैजान आग्रह समेत गरेको छ ।




