महोत्तरी - मिथिलाञ्चलको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मिथिला माध्यमिकी परिक्रमालाई व्यवस्थित, सुरक्षित र मर्यादित ढंगले सम्पन्न गराउन महोत्तरी प्रशासनले तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले परिक्रमा अवधिभर सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात व्यवस्थापन तथा धार्मिक मर्यादा कायम गर्ने विषयमा निर्णय गरेको हो ।
बैठकमा मटिहानी मठका महन्त डा.रविन्द्र दास वैष्णव, स्थानीय तहका प्रमुख, सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम तालिकाअनुसार परिक्रममा ७ फागुनमा मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमाबाट सुरु भएर १२ फागुनमा कञ्चनवन हुँदै धनुषातर्फ प्रस्थान गरिनेछ । मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन प्रमुख पड़ाव स्थल रहनेछन् ।

परिक्रमा अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रशासनले जनाको छ । साथै, प्रमुख पड़ाव स्थलमा २४ घण्टा स्वास्थ्य शिविर, एम्बुलेन्स र आवश्यक औषधिको व्यवस्था हुनेछ । सम्बन्धित नगरपालिकाहरूले खानेपानी, सरसफाइ, सडक मर्मत र विद्युत् आपूर्तिको व्यवस्था मिलाउने छन् । धार्मिक मर्यादा कायम गर्न मार्ग र पड़ाव स्थलमा राजनीतिक गतिविधि निषेध गरिएको छ ।
त्यसैगरी, प्रमुख पड़ाव स्थल आसपास १ किलोमिटर क्षेत्रभित्र मासु तथा मदिराजन्य पदार्थको बिक्री र सेवनमा प्रतिबन्ध लगाइनेछ । प्रशासनका अनुसार सबै निकायको समन्वयमा यस वर्षको परिक्रमा शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने योजना बनाएको छ ।





