महोत्तरी - महोत्तरी जिल्लाको गौशाला नगरपालिका ८ मा आइतबार राति नेपाली काँग्रेस को पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। सोही क्रममा वडा नम्बर ८ का कांग्रेस वडा सभापति सन्तोष ठाकुरको घरमा समेत ढुंगामुढा भएको जनाइएको छ। सन्तोष ठाकुरका अनुसार राति करिब १० बजे मदिरा सेवन गरेका चार जना युवाले कार्यालयमा प्रवेश गरी कुर्सी तोडफोड गरेका, पार्टीको ब्यानरमा आगजनी गरेका तथा उनका दाइ विमलेश ठाकुर र भतिजो शिवम कुमार ठाकुरलाई कुटपिट गरेका थिए।

“त्यो बेला म घरमा भएको भए मलाई नै कुटपिट गर्ने योजना उनीहरूले बनाएका थिए। ज्यानको सुरक्षामा ठूलो जोखिम महसुस भयो,” ठाकुरले बताए। घटनामा संलग्न युवाहरूले आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक भएको दाबी गरेको बताइए पनि ठाकुरले उनीहरू वास्तवमा नेपाली कम्युनिष्ट पार्टी का कार्यकर्ता रहेको र रास्वपाको नाम बदनाम गर्ने उद्देश्यले घटना गराएको आरोप लगाएका छन्।

उक्त आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया भने आउन बाँकी छ। स्थानीय बासिन्दा कमलेश थापाले राजनीतिक मतभेद स्वाभाविक भए पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताए। “दोषीलाई तुरुन्त कारबाही हुनुपर्छ,” उनले भने। अर्का स्थानीय बेका बहादुर थापाले चुनावी समयमा यस्ता घटना लोकतन्त्रका लागि गम्भीर चुनौती भएको टिप्पणी गरे। उनले शान्ति सुरक्षामा देखिएको कमजोरी सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए। ठाकुरका अनुसार चारै जना युवाहरू स्थानीय हुन्।

तीमध्ये गोकुल आले र इशान मगरको परिचय खुलेको छ भने बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। घटनाबारे सम्बन्धित निकायलाई जानकारी दिइएको र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।








भिडियो :




