महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार शरतसिंह भण्डारी यसपटक आफ्नो ‘अन्तिम निर्वाचन’ को भावनात्मक सन्देशसहित मतदाता भेटघाटमा जुटेका छन्।
चार दशकभन्दा बढी समयदेखि निरन्तर चुनावी राजनीतिमा सक्रिय ७१ वर्षीय भण्डारीले यसै निर्वाचनपछि आफू चुनाव नलड्ने घोषणा गर्दै मतदातासँग समर्थन मागिरहेका छन्। घरदैलो अभियानका क्रममा उनले यस निर्वाचनलाई आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताएका छन्।



मधेश निरन्तर विभेदमा परेको दाबी गर्दै भण्डारीले संविधान संशोधनलाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। वर्तमान संरचना र प्रणालीबाट आमूल परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै उनले देशलाई अग्रगतिमा लैजान संवैधानिक तथा कानुनी संरचनामा परिवर्तन आवश्यक रहेको बताए।

घरदैलोका क्रममा मतदाताबाट जनसम्पर्कको अभावबारे गुनासो आएको स्वीकार गर्दै उनले नेता निर्वाचित भएपछि जनताबाट टाढा रहने प्रवृत्तिप्रति प्रश्न उठ्नु स्वाभाविक भएको प्रतिक्रिया दिए। सीमित स्रोतसाधन, कर्मचारीतन्त्रको ढिलासुस्ती र संरचनागत जटिलताका कारण मधेशमा अपेक्षित विकास हुन नसकेको उनको भनाइ छ।
२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेर पहिलोपटक सत्तामा प्रवेश गरेका भण्डारी ४४ वर्षदेखि निरन्तर उम्मेदवार रहँदै आएका छन्। १९ पटक मन्त्री भइसकेका उनी मधेश केन्द्रित राजनीतिमा अनुभवी नेताका रूपमा चिनिन्छन्।
यस निर्वाचन क्षेत्रमा जसपाका भण्डारीसँगै नेपाली कांग्रेसकी किरण यादव, नेकपा एमालेका कासिम नदाफ र राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह बीच प्रतिस्पर्धा हुने देखिएको छ।
२०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका भण्डारीले कांग्रेसकी यादवलाई १६ हजार ७४८ मतको अन्तरले पराजित गरेका थिए। २०७९ सालको निर्वाचनमा भने उनले पाँचदलीय गठबन्धनको समर्थनमा पुनः जित हासिल गरेका थिए।
यसपटकको निर्वाचनमा गठबन्धनको समीकरण परिवर्तन भएको छ। अघिल्लो निर्वाचनमा भण्डारीका प्रतिस्पर्धी रहेको तराई मधेश लोकतान्त्रिक पार्टी जसपा नेपालमै समाहित भइसकेको छ। यसले भण्डारीको मत आधार सुदृढ हुनसक्ने अनुमान गरिए पनि स्वतन्त्र मतदाताको भूमिकाले परिणाम कता मोडिन्छ भन्ने चासो कायमै छ।




