महोत्तरी — जिल्लाकै पुराना सामुदायिक विद्यालयमध्ये एकका रूपमा परिचित श्री प्रसाद सिंह माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा शैक्षिक रूपमा निरन्तर कमजोर बन्दै गएको भन्दै स्थानीयस्तरमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।
औरही नगरपालिका–२, औरहीमा अवस्थित उक्त विद्यालय २०१३ सालमा स्थापना भएको जनाइएको छ। विगतमा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका विभिन्न भेगबाट विद्यार्थीहरू अध्ययनका लागि आउने तथा केही विद्यार्थी छात्रावासमा बसेर अध्ययन गर्ने परम्परा रहेको थियो। तर पछिल्लो समय विद्यालयको पहुँच औरही नगरपालिका–१ र २ मा सीमित हुन पुगेको छ। आर्थिक रूपमा सक्षम अभिभावकहरूले निजी विद्यालय वा अन्य नगरपालिकाका विद्यालय रोज्न थालेपछि विद्यार्थी संख्या उल्लेख्य रूपमा घट्दै गएको जनाइएको छ।
ऐतिहासिक तथा शैक्षिक दृष्टिले महत्वपूर्ण मानिने यस विद्यालयबाट अध्ययन गरेका पूर्वविद्यार्थीहरू देशका विभिन्न क्षेत्र तथा विदेशसम्म प्रतिष्ठित पदमा रही राष्ट्रसेवामा योगदान गरिरहेका छन्। तर पछिल्ला वर्षहरूमा शैक्षिक नतिजा कमजोर हुनु, विद्यार्थी संख्या घट्दै जानु र अभिभावकको विश्वास ह्रास हुँदै जानु विद्यालयका प्रमुख चुनौतीका रूपमा देखिएको सरोकारवालाहरूले बताएका छन्। समयमै ठोस सुधारका कदम नचालिए विद्यालयको अस्तित्वमै संकट आउन सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
विद्यालय सुधारको जिम्मेवारी विद्यालय प्रशासन वा व्यवस्थापन समितिमा मात्र सीमित नराखी सम्पूर्ण समुदायले साझा दायित्वका रूपमा लिनुपर्ने स्थानीयको धारणा छ। विद्यालय कुनै व्यक्ति, समूह वा राजनीतिक दलको मात्र नभई सम्पूर्ण गाउँको साझा सम्पत्ति, पहिचान र गौरव भएको उनीहरूले बताएका छन्।
भौतिक पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षण–सिकाइ वातावरण निर्माण, दक्ष तथा प्रतिबद्ध शिक्षक व्यवस्थापन, अनुशासन र शैक्षिक संस्कृतिको प्रवर्द्धनमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिएको छ। यसका साथै अभिभावक–विद्यालय सहकार्यलाई प्रभावकारी बनाउँदै विद्यार्थी आकर्षण बढाउने दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिइएको छ।
विद्यालय सुधारका लागि राजनीतिक दल, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक, पूर्वविद्यार्थी तथा सञ्चारकर्मीहरूले राजनीतिक स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ। विद्यालय जोगाउनु भनेको गाउँको पहिचान जोगाउनु हो भने शिक्षामा गरिएको लगानीले देशको भविष्य सुरक्षित गर्ने सरोकारवालाहरूको ठम्याइ रहेको छ।




