महोत्तरी - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश संकटमा परेका बेला समाधान दिन सक्ने सक्षम राजनीतिक शक्ति कांग्रेस नै रहेको बताउनुभएको छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उहाँले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने दाबी गर्नुभयो।
उहाँले युवापुस्तामा देखिएको असन्तुष्टि र उठिरहेका प्रश्नहरूलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै ‘जेन–जी’ समूहका युवाहरूले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको बताउनुभयो। ती मागहरूको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको उहाँको भनाइ थियो। उपसभापति शर्माले पार्टीभित्र अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत भएको उल्लेख गर्नुभयो।
कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने उहाँले बताउनुभयो। उहाँले निर्वाचनका क्रममा उम्मेदवारहरूले जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन भए–नभएको विषयमा पार्टीको केन्द्रीय कार्यालयबाटै अनुगमन गरिने स्पष्ट पार्नुभयो। “जनतासँग गरिएको प्रतिबद्धता कागजमा सीमित रहनु हुँदैन, त्यसको कार्यान्वयनको जिम्मेवारी पार्टीले लिन्छ,” उहाँले भन्नुभयो, “उम्मेदवारको कार्यसम्पादनको मूल्यांकन गरी आवश्यक परे कारबाहीसमेत गरिनेछ।”
देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै विकासको नयाँ चरणमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मतदातालाई लोकतान्त्रिक शक्तिको पक्षमा उभिन आह्वान गर्नुभयो। ऐतिहासिक परिवर्तनका प्रत्येक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउँदै उहाँले राणाशासनको अन्त्य, राजसंस्थाको अवसान तथा शान्ति प्रक्रियामार्फत देशलाई द्वन्द्वबाट मुक्त गराउने अभियानमा कांग्रेस अग्रपंक्तिमा रहेको बताउनुभयो।
कार्यक्रमअघि उपसभापति शर्माले जलेश्वरस्थित सहिद पार्कमा पुगेर सहिदहरूको स्मारकमा माल्यार्पण गर्नुभएको थियो। सहिदहरूको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको रक्षा र सुदृढीकरण सबैको साझा दायित्व भएको बताउनुभयो।




