धनुषा । नववर्ष २०८३ को अवसरमा धनुषाको लालगढमा सञ्चालन भइरहेको पाँचौं लालगढ युवा समाज कप फुटबल प्रतियोगितामा आयोजक लालगढ युवा समाज क्लब फाइनलमा प्रवेश गरेको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ २०८२ साल चैत्र २८ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत वैशाख ४ गते सम्पन्न सेमिफाइनल खेलमा लालगढ युवा समाज क्लबले बेलगाछी युवा क्लब, महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
लालगढस्थित प्रगति टोलको फुटबल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा लालगढ युवा समाज क्लबले ५ गोल गर्दै जित हात पार्दा बेलगाछी युवा क्लबले ४ गोलमा सीमित रहन पुग्यो।
लालगढ युवा समाज क्लबका ऋतिक श्रेष्ठ, सोहन लामा, सरोज लामा, मानव भण्डारी, क्रिस भण्डारी, उर्गेन लामा, अर्जुन मगर, अभिषेक सुवेदी, आकाश श्रेष्ठ, दिपेन्द्र बिक, सञ्जीव कार्की, अभि श्रेष्ठ र गणेश मगर लगायतका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन देखिएको थियो। टिमका प्रशिक्षक सुमन घिमिरे र व्यवस्थापक निशान लामाले टोलीलाई सफलतापूर्वक नेतृत्व गरेका छन्।
त्यस्तै बेलगाछी युवा क्लब महोत्तरीका रुपेन यादव, अरुण मगर, आयुष मगर, आदित्य मगर, सुनिल राना, राम भुजेल, रोशन मगर , अरुण दनुवार, सबिर श्रेष्ठ, नवराज पौडेल, रञ्जित पासवान, नरेश सदा, पूर्व कार्की, विवस चौधरी र क्रिस घलेले खेलमा सहभागिता जनाएका थिए। टोलीका प्रशिक्षक अनिस थापा मगर र व्यवस्थापक भुवन श्रेष्ठ रहेका छन्।
प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता हुने टोलीलाई नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल सहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।








