जनकपुरधाम। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा सञ्चालित इन्स्पायर परियोजनाअन्तर्गत सेभ द चिल्ड्रेनले बाराका दुई विद्यालयमा मेकर स्पेस र टेक ल्याबको उदघाटन गरेको छ । साथै, विद्यार्थी र प्रविधिसँग सम्बन्धित संस्थाहरूको सहभागितामा प्रविधि प्रदर्शन कार्यक्रमसमेत आयोजना गरिएको छ ।

कार्यक्रममा सरल रोबोटदेखि डिजिटल डिजाइनसम्मका विभिन्न व्यवहारिक परियोजनाहरू प्रदर्शन गरिएका थिए ।
यी गतिविधिहरू कोइकाको सहयोगमा सञ्चालन भइरहेको इन्स्पायर परियोजना अन्तर्गत सञ्चालन भएका हुन् । पाँच वर्षे अवधिको यो परियोजनाको उद्देश्य मधेश प्रदेशमा आधारभूत शिक्षा सुदृढ गर्नु, डिजिटल साक्षरता बढाउनु तथा किशोरकिशोरी र युवालाई भविष्यका अवसरका लागि तयार बनाउनु हो ।




मेकर स्पेस र टेक ल्याबलाई अन्तरक्रियात्मक सिकाइ केन्द्रका रूपमा विकास गरिएको छ, जहाँ विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सम्बन्धी विषयहरू व्यवहारिक अभ्यासमार्फत सिक्न सक्नेछन् । यी स्थानमा डिजिटल उपकरण, टेक किट तथा सिर्जनात्मक सिकाइ सामग्री उपलब्ध गराइएको छ, जसले विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, समालोचनात्मक सोच र समस्या समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कोइकाका निर्देशक मुहयुन कोंगले भन्नुभयो, “यी स्थानहरूले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सम्बन्धी विषयहरू डिजिटल सिकाइसँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिन्छन् । यसले उनीहरूलाई प्रविधिको प्रयोग र सिकाइ प्रक्रियामा डिजिटल उपकरणको भूमिका बुझ्न सहयोग गर्छ ।”
त्यसैगरी सेभ द चिल्ड्रेनका कार्यक्रम विकास, गुणस्तर तथा प्रभाव निर्देशक आयुष श्रेष्ठ जोशी ले भन्नुभयो, “मेकर र टेक स्पेस केवल कोठा मात्र होइनन्, यी सिर्जनशीलता, नवप्रवर्तन र समस्या समाधान क्षमता विकास गर्ने सिकाइ वातावरण हुन् । प्रविधि र नवीन सोचमार्फत बालबालिकालाई विद्यालय, घर, समुदाय र देशका चुनौतीहरूको समाधान खोज्न सक्षम बनाउने हाम्रो विश्वास छ ।”
उहाँले थप्नुभयो, “मेकर स्पेस र डिजिटल नवप्रवर्तनमा आधारित शिक्षा नेपाल सरकारको शिक्षालाई डिजिटल र व्यवहारिक बनाउने लक्ष्यसँग मेल खान्छ ।”
अन्तरक्रियात्मक प्रविधि प्रदर्शन कार्यक्रममा सातवटा विद्यालयका सयौँ विद्यार्थीहरूले रोबोटिक्स एसोसिएसन अफ नेपाल, कारखाना समूह, स्मार्ट चेली लगायत संस्थासँग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा रोबोट, सर्किट मोडेल, होलोग्राम कला, विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सम्बन्धी सिकाइ किट र ड्रोन प्रदर्शन गरिनुका साथै विशेषज्ञहरूसँग सिकाइ आदानप्रदान सत्र पनि सञ्चालन गरिएको थियो ।
बारा जिल्लाको महागढीमाईस्थित श्री भोला माध्यमिक विद्यालयका कक्षा ८ का एक विद्यार्थीले भन्नुभयो, “पहिले हाम्रो पढाइ किताब र कालोपाटीमा सीमित थियो । अहिले मेकर स्पेसमार्फत हामी काम गरेर सिक्न, सर्किट बुझ्न र विज्ञान तथा गणितलाई सजिलो र रमाइलो तरिकाले अनुभव गर्न सक्छौँ ।”

त्यस्तै, कार्यक्रममा सहभागी कक्षा ७ का अर्का एक विद्यार्थीले भने, “आज हामीले रोबोट चलेको देख्यौँ, डिजिटल डिजाइन बनाएको हेर्यौँ र विज्ञानलाई व्यवहारमा अनुभव गर्यौँ । यहाँ पढाइ केवल पढ्ने मात्र नभई गरेर सिक्ने रहेछ ।”
इन्स्पायर परियोजना सन् २०२५ देखि सञ्चालन भएको हो । हाल यो बारा जिल्लाको बारा महागढीमाई नगरपालिका, करैयामाई र देवताल गाउँपालिका तथा महोत्तरी जिल्लाका औरही र लोहारपट्टी नगरपालिकामा कार्यान्वयन भइरहेको छ । परियोजना जनजागरण युवा क्लब, बारा, र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, महोत्तरीसँगको साझेदारीमा सञ्चालन भइरहेको छ ।
परियोजनाको पहिलो वर्षमै ४५ वटा कक्षाकोठा निर्माण तथा मर्मत, १६ वटा खानेपानी तथा सरसफाइ संरचना निर्माण, १८८ जना प्रारम्भिक तहका शिक्षकलाई समावेशी शिक्षासम्बन्धी तालिम, करिब १२,००० बालबालिकालाई अतिरिक्त सिकाइ सहयोग, १०२ किशोरकिशोरीलाई बजारमुखी व्यावसायिक तालिम तथा ७ वटा टेक ल्याब र मेकर स्पेस स्थापना गरिसकिएको छ ।




