सिरहाको गोलबजार नगरपालिका ७ स्थित पुरानो चौक चोहर्वाको पशु हाटबजार परिसरमा बाटोमा हाल्न माटो खनेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
कवाडी संकलनको काम गर्दै आएका अवास शेखका छोरीहरु १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया रुविना खातुन र छोरा ८ वर्षीय साफुल शेखको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । रौतहट जिल्लाको झिङ्गहर्वा २ स्थायी घर भई गोलबजार ७ मा लामो समयदेखि डेरा गरी बस्दै आएका शेखका पाँच सन्तानमध्ये तीन जना छोराछोरी आइतबार दिउँसो करिब अढाइ बजे घरबाट खेल्न निस्किएको जनाइएको छ ।



डेरा नजिकै रहेको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा उनीहरू डुबेको स्थानीय मनोज महतोले जानकारी दिए । बालबालिका डुबेको हल्ला भएपछि जम्मा भएका स्थानीयले उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा पुर्याएको भएपनि तीनै जनालाई मृत घोषणा गरेको थियो । प्रहरीले खाल्डोमा अझै बालबालिका डुबेको हुन सक्ने आशंकामा दमकलको सहयोगमा उक्त खाल्डोको पानी फालेको थियो ।
बालबालिकाको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रदेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बाटोमा हाल्ने माटो खन्ने क्रममा स्थानीयले नखन्न अनुरोध गरेपनि निर्माण उपभोक्ता समितिले नमानेको स्थानीय बताउँछन् ।
स्थानीयले जनप्रतिनिधिको आडमा जथाभावी माटो खन्ने र उपयोग नै नहुने ठाउँमा बाटो बनाउँदा तीन बालबालिकाको अनाहकमा ज्यान गएको स्थानीयको आरोप छ ।




