रोशन कुमार महतो
बर्दिबास । महोत्तरीको बर्दिबासमा प्रस्तावित बर्दिबास मेडिकल कलेज निर्माण वर्षौँसम्म अघि बढ्न नसकेको विषयमा शिक्षा मन्त्री सस्मित पोखरेलले विगतमा स्पष्ट योजना र सञ्चालन मोडेलको अभाव मुख्य कारण रहेको बताएका छन्।



निर्माणस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले मधेश प्रदेशका लागि बर्दिबास मेडिकल कलेज अत्यन्तै आवश्यक परियोजना भएकाले अब यसलाई स्पष्ट योजना, दीर्घकालीन सोच र उपयुक्त सञ्चालन मोडेलका आधारमा अघि बढाइने बताए।
उनका अनुसार मेडिकल कलेजलाई कुन विश्वविद्यालय अन्तर्गत सञ्चालन गर्ने वा छुट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भन्ने विषयमा विस्तृत अध्ययन भइरहेको छ। अध्ययनको निष्कर्षका आधारमा दीर्घकालीन रूपमा प्रभावकारी मोडेल छनोट गरी निर्माण प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।
‘मेडिकल शिक्षामा लगानी गर्न राज्यले कन्जुस्याइँ गर्नु हुँदैन। मधेशमा गुणस्तरीय मेडिकल कलेजको आवश्यकता छ। त्यसैले हतारमा होइन, टिकाउ र प्रभावकारी मोडेलमार्फत परियोजना अघि बढाइन्छ,’ मन्त्री पोखरेलले भने।
बर्दिबास मेडिकल कलेजको योजना खारेज हुन लागेको चर्चा निराधार रहेको स्पष्ट पार्दै उनले परियोजनाका लागि आवश्यक बजेट विनियोजन भइसकेको र निर्माण प्रक्रिया रोक्ने कुनै योजना नरहेको बताए।
१५ वर्षसम्म पनि आयोजना किन अघि बढ्न सकेन भन्ने प्रश्नमा मन्त्री पोखरेलले विगतमा प्रभावकारी योजना नबन्दा ढिलाइ भएको स्वीकार गर्दै अब त्यसलाई व्यवस्थित रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
डेढ दशकअघि घोषणा गरिएको बर्दिबास मेडिकल कलेज निर्माण अझै सुरु हुन नसक्दा स्थानीयमा निराशा बढेको भए पनि मन्त्री पोखरेलको पछिल्लो प्रतिबद्धतापछि अब आयोजना व्यवहारमै अगाडि बढ्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।





