जनकपुरधाम । धनुषा सहित मधेशका जिल्लाहरुमा लामो दुरीका सवारी साधन सञ्चालनमा आउन थालेको छ । गाडी चल्न थालेपछि यात्रुलाई सहज भएको छ ।
यस क्षेत्रमा बिहीबार र शुक्रबार लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका थिए । शनिबारदेखि लामो दुरीमा चल्ने बस समेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो ।



पूर्वको सिराहा, सप्तरी, सुनसरी, विराटनगरलगायत ठाउँमा जाने यातायातका साधन अझै पूर्णरुपमा खुल्न सकेका छैनन् । धनुषाको बस व्यवसायी मन्दिप झाले अन्य दिनको तुलनामा शनिबारदेखि बस सञ्चालनमा सहजता भएको छ । आइतबार थप सहज अवस्था भएको बताउनुभएको छ ।
वीरगन्ज, बर्दिवास र जनकपुरतर्फका बस निर्वाध गुड्न थालेका र ढल्केबरदेखि पूर्वतर्फ पनि विस्तारै अवस्था सहज भइरहेकाले बस गुडाउन सुरु गर्ने तयारी रहेको झाको भनाइ छ । पूर्वका धेरै ठाउँमा अहिले साना गाडीहरु (हायस र वीङ्गर) ले भने फाट्टफुट्ट यात्रु ओसारपसार गर्दा सहजता भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले शनिबारदेखि महेन्द्र राजमार्ग र अन्य भित्री सडकमा सवारीको चाप बढ्न थालेको जनाएको छ । स्थानीय रुटमा चल्ने टेम्पु, म्याजिक, जीप, बस, बोलेरो भने सामान्य अवस्थामै नियमित सञ्चालनमा रहेका छन् ।
सङ्घीय राजधानी काठमाडौँसम्म प्रत्येक सवारी साधन निर्वाध आउजाउ गरिरहेका छन् । महेन्द्रनगर स्थित रात्रि बसका काउन्टर सञ्चालक शम्भु चौधरीले नाइट बस सञ्चालनमा कुनै समस्या नरहेको बताउनुभयो । शनिबारदेखि सदरमुकामतर्फबाट चल्ने बसहरुको समेत टिकट काट्न सुरु गरिएको चौधरीले बताउनुभयो । मधेशका जिल्लाहरुमा आन्दोलन कम हुँदै गएसँगै हरेक सवारी साधन क्रमिक रुपमा सुचारु हुन थालेका छन्।
यातायातसँगै मधेशका बजारहरु पनि साबिकझैँ खुल्न थालिसकेका छन् । जनकपुरधाममा शुक्रबारको प्रदर्शनले बन्द भएका बजार आइतवारदेखि खुलेका छन् ।





