महोत्तरी । गृहमन्त्री सुदन गुरुङले आइतबार महोत्तरीको मटिहानी नगरपालिका–स्थित मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले सीमा सुरक्षा, आवतजावतको अवस्था तथा व्यवस्थापनबारे जानकारी लिनुका साथै सुरक्षा संयन्त्रलाई सीमा निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
मटिहानी पुगेपछि गृहमन्त्री गुरुङले सीमावर्ती क्षेत्रमा रहेका सीमास्तम्भको अवलोकन गर्दै सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूसँग सीमा व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण तथा विद्यमान चुनौतीबारे छलफल गर्नुभएको थियो।



उहाँले मटिहानीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) पुगेर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुका साथै सीमामा हुने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आवश्यक समन्वय, निगरानी र सतर्कता अपनाउन निर्देशन दिनुभएको थियो।
पछिल्लो समय मधेशका केही जिल्लामा सामुदायिक सद्भावसँग सम्बन्धित घटनाहरू देखिएको सन्दर्भमा गृहमन्त्री गुरुङले मटिहानीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको लक्ष्मीनारायण मठमा पूजा–अर्चना गर्नुभएको थियो। त्यसैगरी मुस्लिम समुदायको आस्थाको केन्द्र पीरबाबाको मजारमा पुगेर चादरसमेत अर्पण गर्नुभएको थियो। उहाँको यस भ्रमणलाई धार्मिक सद्भाव र सामाजिक एकताको सन्देशका रूपमा समेत हेरिएको छ।
गृहमन्त्री गुरुङलाई मटिहानी आगमनका अवसरमा नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा सुरक्षा निकायका अधिकारीहरूले स्वागत गर्नुभएको थियो।
सीमा क्षेत्रको निरीक्षणपछि उहाँ महोत्तरीको सदरमुकाम जलेश्वर पुगेर प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा पूजा गर्नुभएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गृहमन्त्रीले सुरक्षा निकायका अधिकारीहरूसँगै मन्दिरमा पूजा–अर्चना गर्नुभएको हो।
सीमा क्षेत्रको निरीक्षण तथा धार्मिक स्थलको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले सञ्चारकर्मीसँग कुनै औपचारिक प्रतिक्रिया भने दिनुभएको छैन।





