धनुषा । ढल्केवरस्थित ट्रमा सेन्टरलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णयको विरोधमा स्थानीयवासीले सङ्घर्ष समिति गठन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठन गरिएको ‘ढल्केवर ट्रमा सेन्टर संरक्षण सङ्घर्ष समिति’ ले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। समितिको बैठकले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।



समितिका संयोजक तथा मिथिला नगरपालिकाका नगरप्रमुख महतोले ढल्केवर ट्रमा सेन्टर स्थानीयवासीको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको आधारभूत स्वास्थ्य सेवा भएकाले जनभावनाविपरीत गरिएको स्थानान्तरणको निर्णय स्वीकार्य नहुने बताउनुभयो।
उहाँले ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णय तत्काल खारेज गरी हालकै स्थानबाट सेवा सञ्चालनलाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो। जनभावनाको सम्मान गर्दै निर्णय सच्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै उहाँले माग बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो।
सङ्घर्ष समितिले आफ्ना माग समयमै सम्बोधन नभए सडक आन्दोलन, धर्ना, रिले अनशनलगायत थप दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। स्थानीय नागरिकको स्वास्थ्य अधिकार संरक्षणका लागि कुनै पनि अवस्थामा पछि नहट्ने अडान समितिले दोहोर्याएको छ।
स्थानीयवासीका अनुसार ढल्केवर ट्रमा सेन्टर पूर्व–पश्चिम राजमार्गमा हुने सडक दुर्घटनाका घाइते तथा आसपासका बासिन्दाका लागि आकस्मिक उपचारको प्रमुख केन्द्रका रूपमा सेवा दिँदै आएको छ। यस्तो अवस्थामा ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णयले यस क्षेत्रका सेवाग्राही प्रत्यक्ष प्रभावित हुने उनीहरूको भनाइ छ।





