सुजाता राई
विराटनगर । सनातन धर्म सेवा समिति मोरङको आयोजनामा ‘संस्कार शिक्षा’ विषयक धर्म सभा विराटनगरमा सम्पन्न भएको छ। समितिको साधारण सभाको उपलक्ष्यमा साउन २४ गते आयोजित धर्म सभामा बालबालिकालाई सानै उमेरदेखि नैतिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ।



समारोहका विशेष अतिथि काठमाडौंस्थित वैदिक अनुसन्धान गुठीका अध्यक्ष स्वामी डा. केशवानन्दले बालबालिकालाई सानै उमेरदेखि नैतिक शिक्षा पढाउन छाडिएकाले परिवार र समाजभित्र अनुशासन ह्रास हुँदै गएको बताए। उनले बालबालिकाको चरित्र निर्माण तथा अनुशासन कायम गर्न संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको धारणा राखे।

पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गुरुकुलीय तथा संस्कारमय शिक्षाको महत्व समाजमा अझ बढ्दै गएको बताए।
सनातन धर्म सेवा समिति मोरङका अध्यक्ष प्रा. कविराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा समारोहका संयोजक गोकुल अधिकारीले सञ्चालन गरेका थिए।
समारोहमा लक्ष्मीनारायण मन्दिर पाञ्चालिका पीठाधीश अच्युत प्रपन्नाचार्य, नयाँ वृन्दावनधाम इटहरीका महन्त दिनबन्धु शास्त्री, पण्डित भवानीशङ्कर निरौला र प्रा. डा. गोपाल भण्डारीले वैदिक सनातन धर्मको महत्वबारे प्रकाश पारे।

त्यसैगरी सनातन धर्म सेवा समिति मोरङका कोषाध्यक्ष शिरोमणि भट्टराई तथा सदस्यहरू पुष्पलता कोइराला, शोभा पोखरेल, सरिता रेग्मी र प्रतिमा निरौलाले मन्तव्य राखेका थिए।
साधारण सभाको उपलक्ष्यमा आयोजित उक्त धर्म सभामा स्वामी डा. केशवानन्दलाई आशाकरण यशोदादेवी राठी शिक्षा सम्मान अर्पण गरियो।
यसैगरी कार्यक्रममा विभिन्न संस्था तथा धार्मिक क्षेत्रका लागि स्थापित पुरस्कारसमेत प्रदान गरिएको थियो। शिवदत्त रमादेवी भट्टराई वैदिक धर्म संस्कृति पुरस्कार विश्रान्तिधाम संस्कृत गुरुकुल, धनकुटालाई प्रदान गरियो। किसनलाल रुक्मिणीदेवी रजगढीया धर्म संस्कृति पुरस्कार जागृति वृद्धाश्रम, बुढीगंगा–१ लाई प्रदान गरेका थिए।

त्यस्तै ओमप्रकाश उषादेवी गोयल धर्म संस्कृति पुरस्कार देवी पाञ्चायन मन्दिर, विराटनगर–८ लाई, गङ्गाविशन राठी स्मृति शिक्षा सनातन धर्म पुरस्कार राधावावा जामुनेश्वर शिवालय, जामुनगाछी, विराटनगर–५ लाई तथा वालभद्र रिजाल नारायण विष्णु हिन्दु धर्म सेवा पुरस्कार नयाँ वृन्दावन संस्कृत गुरुकुलम्, इटहरीलाई प्रदान गरिएको थियो।





