अजय शाह
गौशाला (महोत्तरी) । पूजा साह सिंहका लागि अहिले दिन र रातको कुनै अर्थ छैन । समय बितिरहेको छ, तर उहाँको प्रतीक्षा रोकिएको छैन । हातमा मोबाइल हुन्छ, आँखाले बारम्बार स्क्रिन खोज्छ । श्रीमान् अजय सिंहको नम्बरमा फोन गर्छिन् । घण्टी बज्छ कि भन्ने आशामा केही क्षण कान थाप्छिन् । तर, उताबाट कुनै आवाज आउँदैन । फोन उठ्दैन । मोबाइल अझै पनि स्विच अफ छ ।
हरेकपटक फोन गर्दा मनमा एउटै आशा हुन्छ– सायद यसपटक अजयले फोन उठाउनुहुन्छ । तर, प्रत्येक असफल प्रयाससँगै त्यो आशा फेरि निराशामा बदलिन्छ । अनि आँखाबाट आँसु झर्छ ।



“मेरो बुढा कस्तो अवस्थामा हुनुहुन्छ ? त्यहाँ के भइरहेको छ ? केही जानकारी पाएको छैन,” पूजाको आवाज भक्कानिन्छ, “प्लिज, जसरी भए पनि उहाँको अवस्थाबारे जानकारी पाउँ । प्लिज, मलाई उहाँसँग कुराकानी गराइदिनुस् ।”
धनुषाको कमला नगरपालिका–६, सखुवा मडानका अजय सिंह रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो । बाढी आउनुअघिसम्म उहाँ परिवारसँग नियमित सम्पर्कमा हुनुहुन्थ्यो । घरमा फोन गर्ने, श्रीमती र परिवारको हालखबर सोध्ने तथा आफू कार्यरत ठाउँको अवस्थाबारे जानकारी दिने उहाँको दैनिकी थियो ।
तर, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्यो नियमित सम्पर्क अचानक टुट्यो । अजयको मोबाइल त्यसयता लगातार बन्द छ । उहाँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने जानकारी परिवारले पाउन सकेको छैन ।
बाढीले रसुवामा ठूलो क्षति पुर्याएको खबर सुनेदेखि पूजाको मनमा एउटै प्रश्न घुमिरहेको छ– अजय कहाँ हुनुहुन्छ ?
उहाँको फेसबुक वाल अहिले यही प्रश्नको मौन दस्तावेज बनेको छ । घण्टौँको अन्तरमा उहाँले एउटै आशयका पोस्ट गरिरहनुभएको छ– “अहिलेसम्म मेरो श्रीमान्को बारेमा केही खबर प्राप्त भएन ।”
एउटा पोस्ट लेखिन्छ । केही समय बित्छ । फेरि अर्को पोस्ट देखिन्छ । शब्द उही हुन्छन्, तर प्रत्येक पोस्टभित्रको पीडा झन् गहिरो हुँदै गएको महसुस हुन्छ । सामाजिक सञ्जालमा आफन्त, साथीभाइ र शुभेच्छुकले खोजीमा सहयोग गरिदिन आग्रह गरिरहेका छन् । पूजाका लागि भने फेसबुक अहिले आफ्नो पीडा सुनाउने र श्रीमान्को खबर खोज्ने माध्यम बनेको छ ।
“एकपटक उहाँको आवाज मात्रै सुन्न पाए पनि हुन्थ्यो,” पूजा भन्नुहुन्छ, “उहाँ सुरक्षित हुनुहुन्छ भन्ने खबर मात्रै पाए पनि मेरो मन शान्त हुन्थ्यो ।”
अजय सम्पर्कविहीन भएपछि घरको वातावरण पनि बदलिएको छ । पहिलेका जस्ता सामान्य दिन छैनन् । घरका सदस्यको ध्यान पनि मोबाइलमै केन्द्रित हुन्छ । अपरिचित नम्बरबाट फोन आउँदा सबैको मनमा आशा पलाउँछ– कतै अजयको खबर त होइन ? तर, फोन अर्कै विषयको रहेछ भन्ने थाहा पाएपछि त्यो आशा फेरि निराशामा बदलिन्छ ।
यो पीडा पूजाको परिवारमा मात्र सीमित छैन । रसुवाको बाढीपछि रोजगारी, व्यवसाय तथा विभिन्न कामका लागि त्यहाँ पुगेका धेरै मानिस सम्पर्कविहीन भएका छन् । उनीहरूका परिवार पनि अहिले यही अनिश्चित प्रतीक्षामा छन् । कसैको श्रीमान्, कसैको छोरा, कसैको दाइ–भाइ र कसैको जीवनसाथी सम्पर्कविहीन छन् ।
घरदेखि सयौँ किलोमिटर टाढा पुगेका आफन्त विपद्मा परेपछि परिवारका सदस्यहरू प्रहरी, प्रशासन, अस्पताल र उद्धारमा खटिएका निकायसम्म पुगिरहेका छन् । कतै नाम भेटिन्छ कि, कतै तस्बिर देखिन्छ कि, कतैबाट “उहाँ सुरक्षित हुनुहुन्छ” भन्ने एउटा वाक्य सुन्न पाइन्छ कि भन्ने आशामा उनीहरू दिनरात भौँतारिरहेका छन् ।

बाढीले सडक, पुल, घर र बस्तीमा क्षति पुर्याएको छ । तर, यसको सबैभन्दा गहिरो चोट ती परिवारको मनमा परेको छ, जसका आफन्तको अवस्था अझै यकिन हुन सकेको छैन । मृत्युको खबर सुन्नु जति पीडादायी हुन्छ, त्यसभन्दा फरक र कहालीलाग्दो पीडा हो– आफ्नो मान्छे जीवित छन् कि छैनन् भन्ने थाहा नहुनु ।
पूजाको जीवन अहिले यही अनिश्चिततामा अडिएको छ । मोबाइलको स्क्रिनमा अजयको नाम हेर्नु, फोन गर्नु, सामाजिक सञ्जालमा खोजीका लागि अपिल गर्नु र कुनै खबरको प्रतीक्षा गर्नु उहाँको दिनचर्या बनेको छ ।
“उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित हुनुहोस्,” पूजा भन्नुहुन्छ, “मलाई उहाँसँग एकपटक कुरा गराइदिनुस् । उहाँको आवाज मात्रै सुन्न पाए पनि मेरो मन शान्त हुन्थ्यो ।”
अजयको खोजी जारी छ । परिवारले पनि आशा छाडेको छैन । पूजाको आँखामा आँसु भए पनि मनको कुनै कुनामा अजय फर्केर आउने विश्वास अझै बाँकी छ ।
सायद यही विश्वासले उहाँलाई प्रत्येकपटक मोबाइल उठाउन बाध्य बनाउँछ । प्रत्येक अपरिचित नम्बरमा आशा खोज्न बाध्य बनाउँछ । र, प्रत्येक रात निद्रा हराएर श्रीमान्को प्रतीक्षा गर्न बाध्य बनाउँछ ।
अहिले पूजासँग भन्नका लागि धेरै शब्द छैनन् । फेसबुकका पोस्टमा दोहोरिइरहेको एउटै वाक्य छ, जुन वास्तवमा एउटा पत्नीको पीडाभन्दा पनि विपद्मा बेपत्ता भएका प्रियजनका परिवारको सामूहिक आवाज बनेको छ–
“अहिलेसम्म मेरो श्रीमानको बारेमा केही खबर प्राप्त भएन ।”
र, त्यो आवाजभित्र लुकेको प्रश्न अझै अनुत्तरित छ–
“मेरो अजय कहाँ हुनुहुन्छ ?”
-गोरखापत्र




