सुजाता राई
काठमाडौँमा नेपाल स्रष्टा समाजको २०औँ अधिवेशन शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ। अधिवेशनले श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।



अधिवेशनबाट अध्यक्षमा श्रीओम श्रेष्ठ ‘रोदन’, उपाध्यक्षमा प्रकाश घायल, महासचिवमा मधु पाठक र कोषाध्यक्षमा तारा सुवेदी निर्विरोध निर्वाचित भएका छन्। सचिव पदमा भएको निर्वाचनबाट प्रदीप सापकोटा विजयी भएका छन्।
त्यसैगरी सदस्यमा यादव भट्टराई, डा. शान्तिमाया गिरी, सुमन थापा ‘सङ्गम’ र तोयानाथ गौतम निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन सत्रमा विभिन्न साहित्यिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल स्रष्टा समाजले भाषा तथा साहित्यको क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए।
शुभकामना मन्तव्य व्यक्त गर्नेमा वरिष्ठ नाटककार तथा साहित्यकार एवं समाजका सल्लाहकार अशेष मल्ल, सल्लाहकार लक्ष्मणप्रसाद गौतम, संरक्षक पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, दायित्व प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, रमेश विकल प्रतिष्ठानका महेन्द्र चालिसे, लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ तथा अभिनव साहित्यिक प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरेलगायत थिए।
दिवंगत साहित्यकार तथा गत भदौ १० गतेको बाढीमा ज्यान गुमाएकाप्रति मौनधारण गर्दै कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, बागमती प्रदेश अध्यक्ष शंकर भारती र मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे।

कार्यक्रममा सहभागीलाई समाजका अध्यक्ष एवं सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले स्वागत गरेका थिए। उनले कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यको योगदानका कारण समाज यस अवस्थामा आइपुगेको उल्लेख गर्दै उत्कृष्ट पदाधिकारीका रूपमा कोषाध्यक्ष तारा सुवेदीलाई सम्मानसमेत गरे।
उद्घाटन सत्रमा समाजकी सदस्य डा. शान्तिमाया गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन् भने महासचिव प्रकाश घायलले सम्पुर्ण कार्यक्रम सञ्चालन सम्हाले।
बन्द सत्रमा महासचिव घायलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तारा सुवेदीले आर्थिक प्रतिवेदन तथा सदस्य प्रदीप सापकोटाले प्रदेश सञ्चालन कार्यविधि र निर्वाचन कार्यविधि प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदन तथा कार्यविधिमाथि छलफल गरी पारित गरिएको थियो। बन्द सत्रको सञ्चालन सदस्य माधव बिडारीले गरेका हुन् ।
निर्वाचन समितिका संयोजक प्राडा लक्ष्मणप्रसाद गौतमले निर्वाचित पदाधिकारी तथा सदस्यलाई माला र प्रमाणपत्र प्रदान गरे भने संरक्षक पवन आलोकले निर्वाचित पदाधिकारीलाई टीका लगाइदिए।
निर्वाचन संयोजक प्राडा गौतमले निर्विरोध तथा मतदानमार्फत निर्वाचित सबै पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै पद तथा गोपनीयताको शपथ गराए।
प्राडा गौतमको संयोजकत्वमा राजेश खनाल र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो।




