अजय शाह,गौशाला (महोत्तरी) – माटोको डल्लो हातमा लिएर आकार दिँदै गर्दा कुम्हालेको हातमा एउटा भाँडो मात्रै तयार हुँदैन, त्यससँगै जोडिएको हुन्छ पुस्तौँ पुरानो सीप, संस्कृति र जीविकाको कथा । तर बदलिँदो समयसँगै प्लास्टिक, स्टिल र अन्य आधुनिक सामग्रीका भाँडाले बजार ओगटेपछि ओझेलमा पर्दै गएको यही परम्परागत पेसालाई अहिले चाडपर्वले धानिरहेको छ ।
महोत्तरीका गाउँबस्तीमा चौरचन पर्व नजिकिँदै जाँदा माटाका भाँडाको माग बढेको छ । विशेषगरी औरहीसहित जिल्लाका विभिन्न हाटबजारमा अहिले घैँला, छाछी, कनतरी, मटकुरी, लबैन, दियो, फुच्चीजस्ता माटाका सामग्रीको बिक्री बढ्न थालेको छ ।



चन्द्रमाको पूजा गरिने चौरचन पर्वमा प्रसाद तथा फलफूल राख्न माटाका भाँडाको प्रयोग गर्ने परम्परा छ । यही धार्मिक तथा सांस्कृतिक चलनका कारण वर्षभरि सुस्त रहने माटाका भाँडाको कारोबार चाडपर्वको समयमा भने एकाएक बढ्ने गरेको कुम्हाले बताउँछन् ।

औरही–१ बजारमा चौरचनका लागि आवश्यक माटाका सामग्री किन्न आएका स्थानीय राजकिशोर चौधरीका लागि यी भाँडा केवल पूजाका सामग्री होइनन् । उहाँका अनुसार माटाका भाँडाको प्रयोगले चाडपर्वको मौलिकता र पुरानो संस्कृतिलाई निरन्तरता दिन्छ ।
“चौरचनमा माटाकै भाँडामा प्रसाद राख्ने चलन छ । यसले हाम्रो पुरानो परम्परा र संस्कृतिलाई बचाइराखेको छ,” उहाँले भन्नुभयो ।
तर संस्कृतिसँगै जोडिएको यो व्यवसाय अहिले सहज भने छैन । कुम्हालेले माटो पाउनदेखि भाँडा तयार पारेर बजारसम्म पुर्याउनसम्म अनेकौँ समस्या झेल्नुपर्छ । माटो खन्ने, सफा गर्ने, मुछ्ने, आकार दिने, घाममा सुकाउने र आगोमा पकाउने लामो प्रक्रियापछि मात्र एउटा भाँडो बजारमा पुग्छ ।
माटाका भाँडाको मूल्यसमेत पछिल्लो समय बढेको छ । औरही–२ का दिनेश यादवका अनुसार केही वर्षअघि पाँच–दस रुपियाँमा पाइने साना माटाका सामग्री अहिले ५० देखि १०० रुपियाँसम्म पर्न थालेका छन् । आकार र प्रकारअनुसार केही सामग्रीको मूल्य २०० रुपियाँसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।
चौरचनमा आवश्यक पर्ने विभिन्न सामग्री किन्दा एउटा परिवारको खर्चसमेत ५०० रुपियाँभन्दा बढी पुग्ने गरेको उहाँको भनाइ छ । “पहिले माटाका भाँडा सस्ता हुन्थे । अहिले माटो, दाउरा, श्रम र ढुवानी सबैको खर्च बढेको छ,” उहाँले भन्नुभयो ।

माटाका भाँडा बनाउने कुम्हालेका लागि भने चौरचनजस्ता पर्व वर्षभरिको पर्खाइपछि आउने अवसर हुन् । औरही–४, कविलासाका चन्देश्वर पण्डित अहिले भाँडा बनाउन व्यस्त हुनुहुन्छ । चाडपर्व नजिकिँदा माग बढ्ने भएकाले समयमै सामग्री तयार पार्नुपर्ने उहाँ बताउनुहुन्छ ।
“अहिले काम गर्ने समय छैन । बिहानदेखि बेलुकासम्म माटो मुछ्ने, भाँडा बनाउने र सुकाउने काममै व्यस्त हुन्छौँ,” उहाँले भन्नुभयो ।
पण्डितका अनुसार कुम्हालेको काम देखिएजस्तो सजिलो छैन । उपयुक्त माटो खोजेर ल्याउनुपर्छ । त्यसलाई सफा गरी मुछेपछि चाक वा हातको सहायताले आवश्यक आकार दिइन्छ । तयार भएका भाँडा केही दिन घाममा सुकाएपछि दाउरा वा अन्य इन्धनको प्रयोग गरी आगोमा पकाइन्छ । पकाउने क्रममा भाँडा फुटेमा श्रम र लागत दुवै खेर जाने जोखिम हुन्छ ।
आधुनिक सामग्रीको बढ्दो प्रयोगले भने कुम्हालेको परम्परागत पेसालाई ठूलो चुनौती दिएको छ । घरायसी प्रयोगमा प्लास्टिक, स्टिल, आल्मुनियम तथा अन्य धातुका सामग्रीको प्रयोग बढेपछि माटाका भाँडाको नियमित बजार खुम्चिएको छ । विवाह, पूजा, चौरचनजस्ता धार्मिक तथा सांस्कृतिक अवसरमै यसको माग सीमित हुँदै गएको कुम्हाले बताउँछन् ।
यद्यपि, चाडपर्वले उनीहरूलाई आफ्नो पेसालाई निरन्तरता दिने आधार दिएको छ । औरही, गौशाला, रामगोपालपुर, भङ्गाहा र जलेश्वरलगायतका बजारमा अहिले माटाका भाँडा बिक्री गर्नेको चहलपहल बढेको छ ।
स्थानीयका अनुसार आधुनिकताको प्रभाव बढ्दै गए पनि चौरचनजस्ता पर्वमा माटाका भाँडाको प्रयोगले पुरानो संस्कृति र स्थानीय उत्पादनबीचको सम्बन्धलाई जीवित राखेको छ । कुम्हालेका लागि यो केवल व्यापारको मौसम होइन, आफ्नो पुर्ख्यौली सीपलाई अर्को पुस्तासम्म हस्तान्तरण गर्ने अवसर पनि हो ।
माटोबाट बनेको एउटा घैँला बजारमा पुग्दा त्यसमा केवल माटोको मूल्य जोडिएको हुँदैन । त्यसमा कुम्हालेको श्रम, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र स्थानीय संस्कृतिको निरन्तरता पनि जोडिएको हुन्छ । त्यसैले चौरचनमा बढेको माटाका भाँडाको मागले एउटा चाडको तयारीसँगै हराउँदै गएको परम्परागत पेसाको अस्तित्वसमेत जोगाइरहेको देखिन्छ ।




गोरखापत्र अनलाइन




