महोत्तरी – मिथिलाञ्चल क्षेत्रमा सोमबार चौरचन पर्व श्रद्धा, आस्था र विधिपूर्वक मनाइएको छ। भदौ शुक्ल चतुर्थीका दिन विशेष महत्वका साथ मनाइने यो पर्व यस वर्ष हरितालिका तीजसँगै एकैदिन परेको हो। चौरचन पर्वमा साँझ चन्द्रमाको पूजा गरी अर्घ्य दिने परम्परा छ।
पूजाका क्रममा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरी, पिरुकिया, खीरलगायतका परिकार तथा फलफूल चन्द्रमालाई अर्पण गरिन्छ। पर्वका लागि आवश्यक अधिकांश सामग्री घरमै तयार गर्ने चलन छ। पूजाका अवसरमा चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ। अरिपनको बीचमा पूजाका सामग्री राखी चन्द्रमाको आराधना गरिन्छ।



दाल–चामलको पिठोबाट बनाइएका पुरी, पिरुकिया तथा अन्य परिकारसँगै माटोको छाँचीमा जमाइएको दही, केराको घारी, फलफूल, वस्त्र तथा आभूषणसमेत चन्द्रमालाई चढाउने परम्परा रहेको छ। पूजा सम्पन्न भएपछि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमा घरका पुरुष सदस्यले प्रसाद ग्रहण गर्ने चलनसमेत रहेको छ।
धार्मिक मान्यताअनुसार चौरचनका दिन पूजा तथा अर्घ्य दिनुअघि चन्द्रमालाई सिधै हेर्दा कलंक लाग्ने विश्वास गरिन्छ। त्यसैले पूजा सम्पन्न गरी अर्घ्य दिएपछि मात्र चन्द्रमाको दर्शन गर्ने परम्परा छ। चौरचनलाई चौठीचान वा चौठीचन्द्रसमेत भनिन्छ। मिथिलाञ्चलमा यसलाई धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ।
चौरचन पर्व भगवान् श्रीकृष्णसँग जोडिएको धार्मिक कथासँग पनि सम्बन्धित छ। धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार स्यमन्तक मणि हराएको आरोप लागेपछि भगवान् श्रीकृष्णले भदौ शुक्ल चतुर्थीका दिन उक्त मणि फिर्ता ल्याई आफूलाई लागेको कलंकबाट मुक्त भएका थिए। यही घटनाको स्मरणमा चौरचन पर्व मनाउने परम्परा सुरु भएको धार्मिक विश्वास छ। कृष्ण जन्माष्टमीको केही दिनपछि मनाइने चौरचनले मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्व राख्छ।
यस पर्वले पारिवारिक एकता, आपसी सद्भाव र पुस्तौंदेखि चलिआएको मिथिलाको मौलिक संस्कृति, कला तथा परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
फोटो फिचर : धर्वेन्द्र कुमार यादव”यदुवन्शी”शिरीष न्युज,औरही/महोत्तरी।























