महोत्तरी ।नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा असहयोग गरेको आरोपमा महोत्तरीका सात जना नेता तथा कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।
केन्द्रीय अनुशासन समितिको भदौ ३१ गते बसेको बैठकले प्राप्त उजुरीमाथि छलफल तथा छानबिनपछि उनीहरूलाई पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको हो।



कारबाहीमा पर्नेमा जलेश्वर नगरपालिकाका नगर सभापति अशोककुमार साह, जिल्ला सदस्य जितेन्द्रप्रसाद सिंह, जलेश्वर नगरपालिका–८ का विमलेशकुमार सिंह, जलेश्वर नगरपालिका–१ का सभापति रामकपुर साह ‘राजु’, महासमिति सदस्य श्रीचन्द्र महासेठ तथा एकडारा गाउँपालिका–४ का गौरीशंकर मिश्र र प्रकाश पाठक छन्।
समितिले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरी अनुशासन उल्लङ्घन गरेको सम्बन्धमा परेको उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि कारबाहीको निर्णय गरेको जनाएको छ।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ३४ को उपधारा ८ को (घ) बमोजिम उनीहरूलाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरिएको हो। उक्त व्यवस्थाअनुसार अनुशासनसम्बन्धी कारबाही गर्न सकिने व्यवस्था रहेको छ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा कारबाहीको निर्णय कार्यान्वयन तथा जानकारीका लागि नेपाली कांग्रेस महोत्तरी जिल्ला कार्यसमितिलाई पत्राचार गरिएको उल्लेख छ।
समितिको निर्णयको बोधार्थ मधेश प्रदेश कार्यसमिति र महोत्तरी जिल्ला निर्वाचन अधिकृतलाई समेत पठाइएको छ।
पार्टीले निर्वाचनमा भएको अनुशासन उल्लङ्घनसम्बन्धी उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउँदै आएको छ। केन्द्रीय अनुशासन समितिले यसअघि पनि निर्वाचनमा पार्टीका सदस्यबाट भएको भनिएको अनुशासन उल्लङ्घनसम्बन्धी उजुरी वर्गीकरण गरी स्पष्टीकरणलगायत प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
महोत्तरीका सात जनामाथि भएको पछिल्लो निर्णयसँगै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध निर्वाचनमा असहयोग गरेको आरोपमा जिल्लाका थप नेता तथा कार्यकर्तामाथि पनि अनुशासनको प्रश्न उठेको छ।





