महोत्तरी- नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महोत्तरीको औरही नगर कार्यसमितिको सभापतिमा मैथुलप्रसाद यादव सर्वसम्मत चयन हुनुभएको छ ।
नगर कार्यसमिति गठनका लागि भएको छलफलबाट यादवलाई सभापतिमा सर्वसम्मत चयन गरिएको हो । नगर सभापति योगेन्द्र यादव र मतदान अधिकृतको रोहबरमा भएको छलफलबाट यादवलाई सभापतिको जिम्मेवारी दिइएको जनाइएको छ ।



यसअघि औरही नगरपालिका–१ देखि ९ सम्मका वडा अधिवेशनबाट सबै वडा सभापति सर्वसम्मत चयन भएका थिए । वडा नं. १ मा सुजित यादव, २ मा नागेन्द्र साह, ३ मा लालकिशोर यादव, ४ मा रामपृत साह, ५ मा ब्रह्मदेव राय, ६ मा वीरेन्द्र यादव, ७ मा दिलीप यादव, ८ मा श्रीप्रसाद यादव र ९ मा महेन्द्र महतो वडा सभापतिमा चयन हुनुभएको थियो ।
वडा तहको अधिवेशन सम्पन्न भएपछि नगर अधिवेशन सम्पन्न भएको हो । नगर कार्यसमितिको सभापतिसहित अधिकांश पदाधिकारी तथा सदस्य पनि सर्वसम्मत चयन भएका छन् । पुरुष उपसभापति पदको चयन भने टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ ।

नगर उपसभापति (महिला) मा सुनिता ठाकुर, सचिवमा रामु यादव र सहसचिवमा श्यामकिशोर यादव चयन हुनुभएको छ ।
महिला सदस्यतर्फ वडा नं. १ देखि ९ सम्म क्रमशः किरण राउत, रिंकु देवी, गोल्हिया देवी, पर्मिला देवी सदा, लक्षमीनिया देवी मण्डल, दौलतिया देवी, तेतरी देवी सदा, इन्दु देवी सदा र प्रेमकान्ति देवी चयन हुनुभएको छ ।
खुला सदस्यतर्फ हरि यादव, सञ्जय यादव, शेषनारायण साह, रामपुनित यादव, दिलीप यादव, रामनाथ यादव, रामईश्वर यादव, रामशङ्कर यादव र मोहन बैठा चयन हुनुभएको जनाइएको छ ।

युवा खुला सदस्यमा रञ्जित यादव र बिमलेन्द्र यादव, महिला दलित सदस्यमा बिमला देवी सदा तथा दलित खुला सदस्यमा सकलदेवी महरा चयन हुनुभएको छ । मनोनीत समावेशी सदस्यतर्फ सुमन यादव, हरिदेव यादव, नथुनी यादव, सञ्जय यादव, रघुनाथ यादव, दिलीप यादव, परीक्षण महतो, रबिन्द्र यादव र अजित यादव चयन हुनुभएको जनाइएको छ ।
सभापतिमा सर्वसम्मत चयन भएपछि यादवले आफूलाई जिम्मेवारी दिएकोमा पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै सबै पक्षलाई समेटेर नगर संगठनलाई वडा तथा टोल तहसम्म थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीभित्र एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने उहाँले बताउनुभयो ।
अधिवेशनका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता महेन्द्रकुमार रायले पार्टी संगठनलाई वडा तहदेखि नै व्यवस्थित र सक्रिय बनाउनुपर्ने बताउनुभयो । नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र सहकार्य कायम गर्दै संगठनलाई जनतासँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिलकुमार यादवले गाउँ, वडा र टोल तहसम्म संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । आन्तरिक एकता र अनुशासन कायम राख्दै जनताका समस्या र आवश्यकतासँग जोडिएर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
क्षेत्रीय सभापति उतिम राय यादवले वडा तहबाटै संगठनात्मक गतिविधिलाई सक्रिय बनाउनुपर्ने बताउँदै कार्यकर्ताबीच समन्वय र सहकार्य बढाएर संगठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मधेश प्रदेश कमिटी सदस्य नरेन्द्र यादवले पनि पार्टी संगठनलाई वडा तथा टोल तहसम्म विस्तार र सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर सभापति योगेन्द्र यादवले मैथुलप्रसाद यादवको सर्वसम्मत चयन पार्टीभित्र सहमति र सहकार्यको अभ्यास भएको बताउँदै आगामी दिनमा सबै पक्षलाई समेटेर नगर संगठनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

अधिवेशनमा नेपाली काँग्रेसका नेता महेन्द्रकुमार राय, केन्द्रीय सदस्य सुनिलकुमार यादव, क्षेत्रीय सभापति उतिम राय यादव, मधेश प्रदेश कमिटी सदस्य नरेन्द्र यादव, नगर तथा वडा सभापतिलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
नगर अधिवेशन सम्पन्न भएसँगै औरही नगरपालिकामा काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर तहको अधिवेशन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको जनाइएको छ ।





