संजीतकुमार मण्डल
महोत्तरी । दुर्गा पूजाको षष्ठी तिथिका दिन शुक्रबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा विशाल कलश यात्रा गर्दै बेल निमन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ ।
बेल निमन्त्रण कार्यक्रमलाई मैथिली तथा मिथिला संस्कृतिमा ‘बेलनेउती’ कार्यक्रम भनिन्छ ।
जलेश्वरको दुर्गाचौक र शंकरचौक गरी दुई स्थानमा हुने दुर्गापूजा स्थलबाट छुट्टाछुट्टै बाजा, गाजा र दुर्गा भवानीको नाचगान तथा झाँकीका साथ बेल निमन्त्रणका लागि कलश यात्रा निस्केको थियो ।
यसका साथै सोही कलश शोभा यात्रामा मिथिलाको प्रख्यात झिझिया नृत्य र नटराज नृत्यको टोली पनि झिझिया र नटराज नृत्य प्रस्तुत गर्दै सहभागिता जनाएका थिए ।
जलेश्वरको दुर्गाचौकबाट मात्रै ५ हजार १०० कुमारी कन्याले हातहातमा घैंटा बोकी कलश शोभा यात्रामा सहभागी भएको दुर्गापूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो ।
त्यस्तै शिव तथा दुर्गापूजा समिति शंकरचौकबाट पनि ७ हजार १२५ कुमारी कन्याहरुले कलश शोभा यात्रा तथा बेल निमन्त्रणा कार्यक्रममा सहभागिता जनाएको पूजा समितिका अध्यक्ष जीतेन्द्र साहले बताउनुभयो ।
दुर्गाचौकबाट निस्केको कलश यात्राले साहुजीपट्टी, शंकरचौक, अस्पतालचौक, जिरोमाईलचौक, बुद्धिजीविचौक हुँदै खानेपानीको कार्यालयमा रहेको बेलको रुखमा गएर बेल निमन्त्रणा कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै शंकरचौकबाट निस्केको कलश यात्राले मिनाबजार, दुर्गाचौक, अस्पतालचौक हुँदै विद्युत प्राधिकरणको प्राङ्गनमा रहेको बेलको रुखका गएर बेलपूजा गर्दै बेल निमन्त्रणा सम्पन्न गरेको छ ।
बेलको रुखमा पूजारीले एउटा बेललाई विशेष पूजा गरी शनिवार एका बिहानै तोडेर लैजाने गरी माता दुर्गा भवानीलाई पूजा ग्रहण गर्न आउन भनी कपडाले छोपेर रुखमै लागेको बेललाई निमन्त्रणा दिइन्छ । र सोही अनुसार पूजारीले एका बिहानै बेल लगेर सबभन्दा पहिले देवीको प्रतिमालाई बेल देखाउँदै उनको आँखा उघार्ने गर्दछ । त्यसपछि देवी दुर्गाको पूजा आजा र बली प्रदान कार्यक्रम विधिवत शुरु हुन्छ ।
बेलको रुखमा माता दुर्गाको बास भएको भन्दै बेल निमन्त्रणा कार्यक्रममा उनलाई पूजा स्वीकार गर्न माटोले बनाएको प्रतिमा स्थलमा आउन भनी निमन्त्रणा दिने प्रचलन रहेको पंडित ललित झाले बताउनुहुन्छ ।







