विरगंज- पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन्।
नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताए।



उनले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यानकेन्द्रित हुनुपर्ने जिकिर गरे। सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा (एमाले)ले विगतमा विभिन्न कार्य गरेको दाबी गरे।
अध्यक्ष ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ। एमाले जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले उनलाई १५१ किलोको माला लगाइएको हो।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका हुन्।
यसक्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायत सयौँ नेता/कार्यकर्तालाई नेकपा (एमाले)मा प्रवेश गराई स्वागत गरेका थिए। मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित थिए।




