महोत्तरी।विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी प्रदेश २ का केही स्थानीय तहहरुले नगरक्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिका,महोत्तरीको सोनामा गाउँपालिका,नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले विद्यालय बन्दको निर्णय गरेकाहुन् ।
अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मंगलबारदेखि शुक्रबारसम्म,महोत्तरीको सोनामा गाउँपालिका,धनुषाको नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।



चसोका कारण विद्यालयमा अध्ययन,अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयहरुमा बिदा दिने निर्णय भएको बताइएको छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि प्रदेश २ का सबै जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि सर्वसाधारण बजार,चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी,ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ।




