जनकपुरधाम- कम योग्यता भएको व्यक्तिलाई वैद्य पदमा करारमा नियुक्ति गरिएको भन्दै मधेश प्रदेश सरकार बिरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा परेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु प्रदेश तहको कार्यक्रम अन्तर्गत जनकपुर आयुर्वेद औषधालयले वैद्य पदका लागि विज्ञापन प्रकाशित गरिएको थियो ।



सोही विज्ञापनको आधारमा कम योग्यता भएका व्यक्तिलाई करारमा राखिएको भन्दै मधेश प्रदेश सरकारलाई विपक्षी बनाएर उत्प्रेष परमादेश जारी गरि पाउँ भनी मुद्दा दर्ता गराइएको छ ।
निवेदक पुरनमल्ल ठाकुरले मधेश प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जनकपुर आयुर्वेद औषधालय लगायत ६ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन् ।
बिएमएमएस अध्ययन गरेकाहरुलाई किनारा लगाएर पैसाको चलखेल गरेर कम योग्यता भएका आवेदकलाई करारमा नियुक्त गरिएकोले मुद्दा दर्ता गराउनु परेको निवेदक ठाकुरले बताए ।
उनले मुद्दामाथीको सुनवाई नभएसम्म विपक्षीहरुलाई काम नगर्नु नगराउन भनि समेत मुद्दामा माग गरिएको बताए । मुद्दाको सुनवाई सोमबार फागुन ३० गते हुने भएको छ ।




