जनकपुरधाम । जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले हाेलीकाे अवसरमा प्रदान गर्दै आएकाे महामुर्खकाे उपाधी यस वर्ष मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई ‘महामुर्ख’को प्रदान गरेको छ ।झालाई महामुर्ख घाेषित गर्दै प्रशंसापत्र, मिथिला चित्रकला,फूल तथा विभिन्न तरकारीबाट बनाईएकाे माला लगाएर सम्मान गरिएको हाे।
त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि प्रदान गरिएकाे छ।
त्यस्तै, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट,जनकपुरधाममा मिथिला चित्रकलालाई शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि प्रदान गरिएकाे छ ।
मिनापले मिथिला क्षेत्रमा भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता विधामा उत्कृष्ट कार्य गर्नेलाई हाेलीकाे अवसरमा प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान गर्दै आएको छ ।
मिनापले २०६१ सालदेखि नै जनकपुरमा हाेली महाेत्सवकाे आयाेजना गरि ‘महामुर्ख’को उपाधि प्रदान गर्दै आएको छ ।







