- विशाल बस्नेत
महोत्तरी । नियमअनुसार सामुदायिक वन क्षेत्रमा एउटा रूख काट्न पनि सशस्त्र सुरक्षा वन कार्यालयको स्वीकृति लिनुपर्छ। तर, महोत्तरीका दर्जनौँ सामुदायिक वन क्षेत्र अहिले अतिक्रमण मात्र गरिएको छैन, वन क्षेत्रमा पसल र व्यवसाय खोल्नेहरूको संख्यासमेत बढिरहेको छ।सामुदायिक वन क्षेत्र तस्कर र अतिक्रमणको चपेटामा पर्दा पनि सम्बन्धित निकायको मौनताले अनेकौँ प्रश्नहरू उठेका छन् ।
विशेषगरी महोत्तरीको उत्तरी क्षेत्र बर्दिबासका सागरनाथ वन तथा समुदायद्वारा संरक्षित सामुदायिक वनहरू स्थानीयहरूले मनपरी ढंगले उपभोग गरिरहेका पाइएको छ। बर्दिबासस्थित भब्सी पुलदेखि गौशाला र सर्लाहीको त्रिवेणीसम्म मात्र गन्ती गर्ने हो भने दर्जनौँ होटल तथा खुद्रा पसलहरू छन्।



अझ अचम्मलाग्दो विषय त वन कार्यालय छेउमै भएर पनि वनभित्र फडानी गरेर व्यापार, व्यवसाय गर्ने अनुमति स्थानीयहरूले कसरी पाए भन्ने बनेको छ। सामुदायिक वन भएको थाहा पाउँदापाउँदै वन फडानी गरेर सडकको आडमा खुलेआम व्यापार गरिरहेका स्थानीयहरूप्रतिको बेवास्ताले वनका कर्मचारीलगायत समबन्धित निकायमाथि विभिन्न शंका–उपशंका उत्पन्न भइरहेका छन्।
के भन्छन् जिल्ला वन कार्यालयका प्रमुख ?
जिल्ला वन कार्यालयका प्रमुख विनोद सिंह वन क्षेत्र अतिक्रमण गरी व्यापार गरिरहेकाहरूलाई पटकपटक ताकेता गरिरहेको दाबी गर्छन।अतिक्रमण गरेर व्यवसाय गर्नेहरूलाई कारबाही गर्ने तयारी गर्दा विभिन्न दबाबहरू आउने गरेको प्रमुख सिंहको भनाइ छ।
त्यहाँस्थित समुदाय र राजनीतिक दलहरूले साथ दिने हो भने अतिक्रमण गरेर व्यापार गरिरहेकाहरूलाई हटाउन सकिने प्रमुख सिंहले बताए। ‘अतिक्रमित ठाउँहरूमा बसोबास र व्यापार गर्नेहरूलाई हामीले पटकपटक सम्झाउने कोसिस पनि गरेका छौँ’, सिंहले भने, ‘तर, त्यो पूर्ण अवैधानिक हो ।’ प्रमुख विनोद सिंहका अनुसार धेरैजसो अतिक्रमित वन क्षेत्र बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा छन्।तस्कर र अतिक्रमणको चपेटाबाट असंरक्षित बन्दै गएको वनको विषयमा पर्यावरणविद्हरूको भने तीब्र असन्तुष्टि छ। धेरैजसो वन चुरे क्षेत्रमा छ।
चुरे क्षेत्रको अतिक्रमण र जबर्जस्ती बस्ती बसाउने प्रक्रियाले मानव जीवनमा नै गम्भीर असर पर्ने बताउँछन् पर्यावरणविद् नागदेव यादव ।
‘समबन्धित निकायले ध्यान नदिने हो भने मानवीय क्रियाकलापकै कारण मानव जीवनमा गम्भीर असर पर्न सक्छ’, उनले भने ।
गलत भइरहेको छ : सडक डिभिजन
सडकको किनारमा जबर्जस्त व्यापार, व्यवसाय गर्नु गलत भएको सडक डिभिजन कार्यालय मुजेलियाको भनाइ छ। सडकको किनारमा सामुदायिक वन फडानी गरी व्यापार, व्यवसाय गर्नु गलत भएको सडक डिभिजन कार्यालयको ठहर छ ।
सडक डिभिजनले पटकपटक उक्त ठाउँबाट पसल तथा टहरा हटाउन भने तापनि स्थानीयहरूले अटेर गरिरहेको सडक डिभिजनका हेमाङ्ग सुवेदी बताउँछन् ।
३० वर्षदेखि बस्दै आएको स्थानीयको दाबी
चेरु माईस्थानका सागर बस्नेत गौशाला र बर्दिबासको सिमानामा हजुरबुबा बस्न आउँदा सानै थिए । हजुरबुबा त्यहाँ बस्न लागेको बेला आफूलाई अलिअलि सम्झना मात्र भएको उनी बताउँछन् । बस्नेतका अनुसार सुरुमा त्यहाँ एउटा मात्र टहरा थियो । बस्नेतले थाहा पाउँदापाउँदै दर्जनौँ टहरा बने र बस्ती बस्न थाल्यो ।
अहिले उक्त ठाउँमा झण्डै २ दर्जन टहरा छन् । टहरा हुनेहरू कोही पनि सुकुम्बासी छैनन् । कतिपयका त बर्दिबासको मुख्य बजारमा नै ठूला घर छन् । अहिले यस ठाउँमा नयाँनयाँ पसलहरू समेत खुलेका छन् तर पसल खोल्दा न सशस्त्र वन डिभिजनलाई थाहा दिइएको छ, न त कुनै सम्बन्धित निकायलाई नै । स्थानीयका अनुसार कतिपयले अधिग्रहण गरिएका जग्गाको किनबेच नै गर्न खोजे भने कतिपयले आफ्नो नाममा नापी गराउनसमेत निकै चलखेल गरे ।
बर्दिबास र गौशालाको सिमानामा नै पर्ने सडकको दायाँ र बायाँ दर्जनौँ खुद्रादेखि ठूला पसल छन् । सडकको बायाँ किनाराको वन सागरनाथ वन परियोजनाको संरक्षणमा छ भने सडकको दायाँतिर सशस्त्र वन डिभिजनको मातहत छ ।
तर, न सागरनाथ वन परियोजनाले रोक्न सकेको छ, न त वन डिभिजन कार्यालयले नै, बरु स्थानीयहरूले मनोबल बढाइरहेको पाइएको छ ।
लागु पदार्थको ‘हट स्पट’ बन्दै
अतिक्रमित वन क्षेत्र लागु पदार्थको हट स्पट बन्दै गएको पाइएको छ । बर्दिबासलगायत अन्य ठाउँका युवाहरूले यही किनारमा रहेका पसल तथा टहराहरूलाई केन्द्र बनाएर लागु पदार्थको दायरा फराकिलो बनाइरहेको स्थानीयहरू नै बताउँछन्। सागरनाथ वन परियोजनाभित्र मन्दिरको आडमा लागु पदार्थ सेवन गर्ने युवाहरूको भीड दिनहुँ बढ्दै गएको प्रति स्थानीयहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।
गौशाला जाने बाटोमा समेत भारतीय बाबाहरू आएर लागु पदार्थको कारोबार गर्ने गरेको स्थानीयहरूले बताए। शंकास्पद ठाउँहरूमा सुरक्षाकर्मीबाट छापा मारी यथाशक्य सत्यतथ्य बाहिर ल्याउन पनि स्थानीयहरूको माग छ। पछिल्लो ६ महिनायता मात्र लागुऔषध ओसारपसारको आरोपमा ६६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धेरैजसो १८ देखि २५ वर्ष उमेर समूहका छन् । धेरैजसो यही क्षेत्रबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धेरैजसो युवा उमेर समूहका छन् ।
२५ देखि ३५ वर्षका यो ६ महिनाको अवधिमा २० जना पुगेका छन् । कतिपयलाई धरौटीमा छाडिएको छ भने कतिपयलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीका अनुसार लागुऔषधसम्बन्धी घटनामध्ये १३ जनालाई पुर्पक्षका लागी थुना पठाइएको छ, १९ जनालाई धरौटीमा छाडिएको छ भने ९ जना अझै फरार छन् । बाँकी २६ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




