महोत्तरी- महोत्तरी स्थित सम्सी गाँउपालिकाका निर्वाचन अधिकृत हटाइएका छन । विगत दुई दिन देखि उम्मेदवारको विषयमा तनावग्रस्त रहेको सम्सी गाँउपालिकामा अन्ततः निर्वाचन अधिकृत फेरिएको हो । निर्वाचन आयोगले आफ्नो वेवसाईटमा जारी गरिएको सुचना अनुसार वैशाख १८ गते देखि लागु हुने गरि निर्वाचन अधिकृत हेरफेर गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेश प्रदेशमा कार्यरत उपसचिव दिलिप कुमार प्रधानलाई हटाएर निर्वाचन आयोगले सिद्धिचरण नगरपालिका ओखलढुंगामा कार्यरत सोहि स्तरका विनोद कुमार दाहाललाई सम्सीको निर्वाचन अधिकृत तोकेको हो । दाहाल सम्सीमा हाजिर भएपछि बरबुझारथ गरिसकेर मात्र हटाइएका प्रधान पदमुक्त हुने निर्वाचन आयोगले जनाएको छ ।



किन हटाइए प्रधान ः
सम्सी गाँउपालिकामा गत वैशाख १२ गते मनोनयन दर्ता गरेकाहरु वडा नं. २ का वडाअध्यक्ष उम्मेदवार शेष मकसुद आलम र वडा सदस्य मोहमद मकसुद , वडा न ं. ६ का वडाअध्यक्ष शेष उमैद र वडा नं. ७ का वडाअध्यक्ष तेज नारायण यादवको बरबुझारथ तथा अन्य कागजात नपुगेको भनि निर्वाचन अधिकृत प्रधानले मनोनयन खारिज गरेकोमा पछि उम्मेदवारहरुले सवै कागजात पेश गरेको दावी गरेपछि कार्यालयमै कागजातहरु फेला परेको थियो ।
सोहि विषयमा विगत दुई दिन देखि विवाद र विरोध चरममा रहि सम्सी स्थित निर्वाचन कार्यालयमा कामकाज ठप्पको अवस्था आएपछि प्रधानले निर्वाचन आयोगलाई सवै व्यहोरा अवगत गराउदै आवश्यक निर्देशनको लागि पत्र लेखेका थिए । सोहि क्रममा निर्वाचन आयोगले प्रधानको गल्तीले यस्तो अवस्था सृजना हुन जादा उनलाई हेरफेर गरेको हो ।
यता मनोनयन खारेज भएका उम्मेदवारको हकमा आयोगको वेवसाईटमा सुचना उपलब्ध गराइएको छैन ।




