काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता अझै माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन तयार नभएको बताएका छन् । बुधबार काठमाडौंमा पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उनले एकपटक पहिलो पार्टी बनाएर माओवादीलाई हेरेका जनता तत्काल पहिलो पार्टी मान्न तयार नरहेको बताए । “जनतामा अझै पनि माओवादीप्रति अगाध माया छ । तर, जनताले पहिलो पार्टी बनाउँदाका अनुभवले फेरि तत्काल पहिलो पार्टी बनाउन चाहेका छैनन्,” प्रचण्डले भने, “०७४ मा र अहिले पनि हामीलाई जुन हैसियतमा राखेका छन्, त्यो जनताले हामीलाई सच्चिनुपर्छ भनेर दिएको सन्देशका रूपमा मैले बुझेको छु ।” उनले अहिले माओवादीलाई तेस्रो र निर्णायक शक्ति बनाएर चाबी हातमा थमाएको भन्दै त्यसलाई दुरुपयोग गर्ने अवस्था नरहेको बताए ।
“माओवादीलाई तेस्रो र निर्णायक शक्ति बनाएर सत्ताको चाबी माओवादीको हातमा थमाइदिएका छन् । यसले अझै पनि माओवादीकै हातमा चाबी थमाएको अवस्था छ,” प्रचण्डले भने, “अर्कातिर, माओवादीले जसरी नै कुरा गर्ने मान्छेलाई जनताले स्वतन्त्र हैसियतमा जिताइदिएका छन्, यो तिमीहरू गर्दैनौ भने हामी यसरी जिताइदिन्छौँ भनेर माओवादीलाई सन्देश हो ।” उनले स्वतन्त्रलाई जिताउनुको अर्थ स्वतन्त्रले नै चलाउन सक्छन् भन्ने नभएको बताए । पार्टीहरूलाई ‘तिमीहरू राम्ररी काम गर्दैनौ भने हामी यस्तो गर्न सक्छौँ’ भन्ने सन्देश जनताको भएको उनको भनाइ छ । माओवादीले आफ्नो पहिचान गुमाउँदै जाँदा अरूजस्तै भनेर अरूलाई नै छानेको भन्दै उनले आफ्नो पहिचानमा फर्कन नेता–कार्यकर्तालाई निर्देशन दिए । “मेरो पहिलो अपिल– हाम्रो पहिचान हराउन खोज्दै छ, जोगाउनुस् ।



देश, संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । यो सबैको प्रमुख योगदान माओवादी आन्दोलनले नै गरेको हो । यसमा कसैले विमति राख्दैन । तर, हामी किन बुर्जुवाहरूजस्तै हुँदै छौँ ?,” प्रचण्डले कार्यकर्तासामु भने, “यति ठूलो योगदान गरेर आएकाहरू किन अरू जस्तै र कतै अझ धेरै छिटो पतनको बाटोमा जाँदै छौँ ? यतातिर जनताले प्रश्न गरेका छन् । हामी आफैँले आफैँलाई पनि प्रश्न गर्ने र सच्चिने समय आएको छ ।” उनले १२२ स्थानमा प्रमुख पद जितेको भन्दै यी क्षेत्रमा अरूभन्दा फरक र प्रभावकारी काम गरेर देखाउन आग्रह गरे । त्यहाँ राम्रो काम गरेर पहिचान देखाउन सके माओवादीको पहिचान फेरि फर्कने उनको बुझाइ छ । “हामीले जितेका १२२ स्थान काम गरेर हाम्रा नयाँ आधार इलाका बनाउनुपर्यो,” प्रचण्डले भने, “जनयुद्धमा हाम्रा आधार इलाका यति धेरै थिएनन् । हामीले संकल्प गर्यौँ भने हामी लडाइँ जित्छौँ । त्यति भयो भने जनताले फेरि पहिलो पार्टी हामीलाई नै बनाउँछन् ।” – बाह्रखरी




