बर्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका र काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल बीच वर्दिवास अस्पताल संचालनार्थ पाँच वर्षे आयोजनाको लागि सम्झौता भएको छ।
बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालको बिच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास विस्तार र संचालनका लागि सम्झौता गरिएको हो।



वर्दिवास नगरपालिका र धुलिखेल अस्पताल बीच भएको १० बुँदे सम्झौतामा स्वास्थ्य सेवा कार्यक्रमको विस्तृतिकरण, प्राविधिक सहयोग, जनशक्तिलार्ई तालिम, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको निश्चितता र गुणस्तर कायम गर्न सहयोग गर्नुको साथै आईसियु संचालन लागि यथाशिघ्र सहकार्य सुरु गर्ने रहेको मेयर प्रहलाद कुमार क्षेत्रीले जानकारी दिएका छन् ।

महोत्तरी क्षेत्र नम्बर १ का संघिय संसद गिरीराजमणी पोखरेल शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री हुँदा उनले गरेको पहलले आज नगरपालिका र धुलिखेल अस्पताल बीच सम्झौता भएको हो ।
बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डाक्टर विराज कर्माचार्यले आज सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।
मेयर क्षेत्रीले भने, ‘पूर्व मन्त्री पोखरेलले पूर्व मेयर विदुर कार्कीको समय देखि नै यस कार्यक्रमको लागि पहल गरिरहनु भएको र आज आफ्नो कार्यकालमा सम्झौता भएको उहाँहरुको सहयोग र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दछु । यसरी नै नगरको विकासको लागि सबै क्षेत्रबाट सहयोग र सहकार्यको अपेक्षा राखेको छु ।’
यो सहमतिले चाडैं धुलिखेल अस्पतालको प्राविधिक टिमको सहयोगमा बर्दिबास अस्पतालमा आईसियू संचालनमा आउने मेयर क्षेत्रीले बताए ।






