धनुषा- नेपाली कांग्रेस धनुषाले अगामी निर्वाचनलाई मध्य नजर गर्दै सम्भावित उम्मेदवारहरुको नाम धामाधम सिफारिस गरिरहेको छ ।
पार्टीको निर्देशन अनुसार कांग्रेस धनुषाका ४ वटै क्षेत्रका क्षेत्रिय समितिहरुले उम्मेदवार छनौट गर्न वैठकलाई तीव्रता दिएको छ।
नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिक दुवैमा पुर्व मन्त्री आन्नद ढुङ्गनाको एकल नाम सिफारिस गरेको छ।
त्यसैगरि, धनुषा क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री रामकृष्ण यादवको एकल नाम प्रत्यक्षमा सिफारिस गरिएको छ भने समानुपातिकको अझै टुङ्गो लागेको छैन ।
काँग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियारका अनुसार प्रत्यक्षमा क्षेत्र २ बाट रामकृष्णको एकल नाम सिफारिस भएपनि समानुपातिकामा आकांक्षीहरु धेरै भएकोले अहिले सम्म टुंगो लाग्न सकेको छैन ।
सो क्षेत्रमा समानुपातिक तर्फ पार्टीका पूर्व जिल्ला सभापति महेशशंकर गिरि र शिवधारी यादवको नाम चर्चामा रहेको छ ।
सभापति पजियारले समानुपातिक उम्मेदवार छान्ने क्षेत्रीय समितिको वैठक शुक्रवार दिउँसो देखि भईरहेपनि अहिले सम्म कुनै निणर्य हुन सकेको बताउनुभयो ।
त्यसैगरि, उम्मेदवार छनौटको विषयमा धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ प्रमेश्वर महासेठको एकल नाम सिफारिस गरिएको छ भने समानुपातिकमा काँग्रेसका पूर्व उपसभपति विमलेन्द्र निधिको एकल नाम सिफारिस गरिएको छ ।
त्यसैगरि धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘क’ वाट प्रदेश सभासदस्यको प्रत्यक्ष निर्वाचन तर्फ मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादवको एकल नाम सिफारिस गरिएको छ भने धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘क’वाट समानुपातिकमा मिन्टन झालाई सिफारिस गरिएको छ।
धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार छनौटको लागि आज शनिवार क्षेत्रिय समितिको वैठक वोलाईएको छ । सो क्षेत्रमा प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारहरुमा पार्टीका सह-महामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव र पूर्व राष्ट्रपति डा.रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादव आकांक्षी हुनुहुन्छ।
यस क्षेत्रबाट सह- महामन्त्री यादव प्रतिनिधिसभाको लागि प्रत्यक्षमा र चन्द्रमोहनको एकल नाम समानुपातिका लागि सिफारिस हुन सक्ने बताइएको छ।




