जनकपुरधाम – नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सन्तोष यादवले कांग्रेसमा वडादेखि सबै सिट टिकट बिक्री हुने गरेको आरोप लगाएका छन् ।
नेकपा एमाले धनुषाले सोमबार जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सो आरोप लगाएका हुन् ।




उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनुषा सभापति पदमा दोस्रो राउन्डमा पराजित भएका थिए । त्यसअघि जिल्ला सचिव हुँदै उपसभापतिसम्म भएका थिए । उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका छन् ।
जनआन्दोलनदेखि कांग्रेसमा दिएको योगदानबारे उल्लेख गर्दै उनले भने, “पैसामा वडादेखि नै पार्टीको टिकट बिक्री हुने गरेको छ । यो गठबन्धन होइन राष्ट्रको लागि ठगबन्धन हो । कांग्रेस झुठाहरुको झुण्ड हो ।”
कांग्रेसले गठबन्धन गरेर सिद्धान्त बिर्सेको यादवको टिप्पणी छ । उनले कांग्रेस नेता विमलेन्द्र निधिलाई लक्षित गर्दै टिकट लिन डराएको बताए । गठबन्धनले देश बन्धक बनाएको उनको दाबी छ ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी परित्याग गर्नेहरुमा अधिकांश नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता रहेका छन् ।

नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, नेतृ विजेता झा, प्रतिनिधिसभा सदस्य रुही नाज, प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहलगायत एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट एमालेको तर्फबाट प्रदेशसभा सदस्यका लागि टिकट पाउने पक्कापक्की भएपछि सन्तोष यादव कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै, एमाले नेतृ विजेता झालाई समानुपातिक सांसद बनाउने आश्वासन दिएपछि उनी पनि कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी छन् ।
२०५ किलोको माला लगाएर स्वागत
अध्यक्ष ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, जिल्ला अध्यक्ष राजकिशोर यादवलगायले उनलाई २०५ किलोको माला लगाएर स्वागत गरेका हुन्




