काठमाडौं । सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको दाबी पेश गर्न दिएको समय आज सकिँदैछ । राष्ट्रपति भण्डारीले यहिँ पुसको ३ गते दलहरुलाई नयाँ सरकार गठनको लागि बहुमतको दाबी गर्न एक हप्ताको समय दिएकी थिइन् । उनले दिएको समय आज आइतबार बेलुका ५ बजे सकिँदैछ ।
तर दलहरुले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन् । ८९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर अडान लिएको छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आजसम्म आफूले साथ दिएकाले अब दाबी नगर्न आग्रह गर्दै आएका छन् । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्ने संकेत देखाएको छैन् । प्रधानमन्त्रीमा कुरा नमिल्दा गठबन्धन धरापमा परेको छ ।



माओवादी केन्द्रले पनि प्रधानमन्त्री नपाएमा एमालेसँग पनि मिल्न सक्ने भनेर एमालेसँग पनि छलफल गरिरहेको छ । सरकार गठनमा एमालेले भने रमिता हेरेर बसेको जस्तो देखिन्छ । एमालेले नत आफूले सरकारको दाबी गरेको छ नत अरुलाई सघाउने नै बताएको छ ।
राप्रपा,राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलले आफ्ना एजेन्डामा साथ दिने दललाई सघाउन सक्ने बताउँदै आएका छन् । तर उनीहरुले पनि निर्णय गरेका छैनन् ।
संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दलले बहुमत ल्याउन नसकेकाले राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमत जुटाएर प्रधानमन्त्री दाबी गर्न आव्हान गरेकी हुन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकका १ सय १० गरी २ सय ७५ जना सांसद रहेका छन् । बहुमतको लागि न्युनतम १ सय ३८ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेसले ८९, एमालेले ७८ सिट जितेका छन् भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १/१ सिट छ । स्वतन्त्रले ५ सिट जितेका छन् ।




