काठमाडौं – नेकपा (माओवादी केन्द्र) बाट थप ४ जना मन्त्री थपिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले यसअघि नै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठलाई पठाइसकेको छ ।
सातदलीय गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । यसअनुसार अब माओवादी केन्द्रले ४ जना मन्त्री थप्नेछ ।



थपिने मन्त्रीहरूमा सुदन किराती, रेखा शर्मा, महिन्द्र राय यादव र अमनलाल मोदी छन् । माओवादी केन्द्रका एक पदाधिकारीले भनेका छन्, ‘उहाँहरू ४ जनालाई नै यसपटक सरकारमा पठाउने भन्ने छ । यो सूची लगभग अन्तिम हो ।’
मन्त्रालयीय भागबन्डा भने टुङ्गिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रालयीय भागबन्डा आजै टुङ्गिने बताएका छन् । उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् । जुन अहिले जारी छ । उक्त बैठकले मन्त्रालयीय भागबन्डा टुङ्ग्याउनेछ ।
यद्यपि अब माओवादी केन्द्रले पाउनेमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पक्का भएको छ । ती पदाधिकारीले भने, ‘हामीले पाउने मन्त्रालयहरूमा सञ्चारचाहिँ पक्का भएको छ । त्यसमा सुदनजी र रेखाजीले दाबी गर्नुभएको छ । अब त्यसमा उहाँहरू नै मिल्नुहोला ।’




