जनकपुरधाम- ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् ।
जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनिहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् ।



मिलापत्र अनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताएकी छन् ।
मिलापत्रमा भनिएको छ, ‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको…’ ।
२०७६ साल कार्तिक ६ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका-४ स्थित शिवराज श्रेष्ठले भाडा लिइ बसेको कोठामा कोही नभएको बेला आफूलाई ललाइफकाइ तथा डर धम्की देखाएर पटक-पटक जबरजस्ती करणी गरेको भन्दै निहारिकाले जिल्ला अदालत धनुषामा मुद्दा हालेकी थिइन्। यस मुद्दामा न्यायाधीश परशुराम भट्टराईको इजलासले शिवराजलाई सफाइ दिएको थियो।
न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएपछि सो मुद्दा उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको थियो।
उच्च अदालतको आदेशमा शिवराज र निहारिकाको छोराको डीएनए परीक्षण गर्दा मिलेको थियो।
२०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेकोमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ।
२०७६ कात्तिक ६ गते शिवराजले जबरजस्ती करणी गरेको आरोप लगाएकी निहारिकाले २०७७ भदौ ५ गते छोरालाई जन्म दिएकी थिइन्।
आफू बलात्कृत भएको भन्दै उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, मुद्दाको बारेमा घटनाको सुरुवातदेखि नै पुनः जाँच गरिनुपर्ने माग राख्दै उनी पटक पटक अनशन बसेकि थिईन् ।
उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिए पछि गरिएको परिक्षणमा उनको छोराको डीएनए शिवराजसँग मिलेको थियो । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् ।
निहारिकाले २७ साउनमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।







