जनकपुरधाम – धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासत तोडेर भागेका ६ थुनुवामध्ये थप एक सहित विहिबारसम्म ४ थुनुवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा क्षीरेश्वरनाथ नगरपालिका ५ बस्ने ३५ वर्षीय विनोद कुमार शर्मालाई मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।



यस अघि पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका- २ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका- ६ का रोशनकुमार महतो रहेका छन् ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो।
गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । चार जना पक्राउ परेको र बाँकी दुई जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले सर्च अपरेसन चलाई खोज तलास जारी राखेको प्रहरीको भनाइ छ।




