महोत्तरी : महोत्तरीमा कथित ठूला जातिको भोज खाएको निहुँमा एक दलित बालक माथि कुटपिट भएको छ। गौशाला नगरपालिका १ बस्ने सत्रुधन पासवानको १६ वर्षीय छोरो अविनास पासवान माथि वैशाख २६ गते राती स्थानीय ४० वर्षीय राम बिनेक यादवले कुटपिट गरेका हुन्।
पीडित परिवारजले वैशाख २७ गते इलाका प्रहरी कार्यालय गौशालामा जातीयछुवाछुतको नाममा कुटपिट गरिएको भनि उजुरी गरेपनि कुनै सुनवाई नभएको बालकका बुवा शत्रुधन पासवानले बताउनुभयो । पीडित पक्षले न्यायको लागि पहल गरि दिनु भनि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीका प्रतिनिधि अजयकुमार साहलाई लिखित रुपमा नै निवेदन दिएका छन् ।



यसरी भयो घटना बालक अविनाश पासवान वैशााख २६ गतेको दिन गौशला १ मा स्थानीय सुरतन यादवको आमा बितेको १३औं दिनको पुण्यतिथिमा अन्तिम भोज कार्यक्रममा टेन्टको काम गर्न आएका थिए। अविनास संगै काम गर्न आएका अन्य जातिका उसको साथीहरुलाई पनि एकातिर बसेर भोज खादै गर्दा सोहि वडामा घर भएका ४० वर्षीय रामबिनेक यादवले अविनास पासवानलाई त तल्लो जातको मान्छे यहाँ किन आएको र किन भोज खाको भन्दै भोज खाने ठाउँ मै आएर गाली बेईज्जिती गर्दै पिटेका थिए ।
यादवले कुटपिट गर्न थालेपछि हल्लाखल्ला भएर भोज आयोजना गर्ने सुरतन यादव आएर आफूले भोज खान भनेपछी राम बिनेक यादवले उसलाई छोडेको थियो । पछि भोज खाएर घर फर्किने बेला अविनाशलाई कुसमारी टोल जाने बाटोमा रातिको ९ बजे तिर राम बिनेक यादवले बाटोमा धेरा हाली कुटपिट गरेको पिडित बालकले बताए। पिडित बालक अविनाशले भने, “दलित तल्लो जातको भन्दै मारिदिने धम्की दिंदै कुटपिट गरे।
म त्यहाँबाट जसोतसो ज्यान बचाएर भाग्न सफल भए।” अविनाशले वैशाख २७ गते इलाका प्रहरी कार्यालयमा राम बिनेक यादव बिरुद्ध उजुरी हालेका थिए तर यस घटना प्रति अहिले सम्म प्रहरीले कुनै चासो नलिएको बताउनुभयो। यस घटनालाई प्रहरीले सामान्य रुपमा लिएको देखिन्छ। प्रहरी निरिक्षक मनोज यादवले घटना भएको तर सामान्य कुटपिटको घटना भएकोले दुबै पक्षलाई बोलाएर मिलाउने बताउनुभयो ।
पीडित परिवारले यस घटनामा कुटपिट गर्ने राम बिनेक यादवले यस अघि पनि अविनास पासवानको आमालाई समेत कुटपिट गरेका थिए । त्यति बेला पनि प्रहरीले कुनै चासो नलिएको पीडितले बताए । यस अघि महोत्तरीमा सोनमा गाउँपालिका पनि जातीय विभेदको घटना केहि महिला अघि भएको थियो । सोनमा एक महतो थरका व्यक्तिले दलितको भोज खाएको भन्दै समाजिक बहिष्कार गरेको घटना सार्वजनिक भएको थियो ।
शिरीष न्युज महोत्तरी सहकर्मी धर्वेन्द्र कुमार यादवले महोत्तरीमा भएको यस्ता घटनामा प्रहरी किन चासो लिदैंन भनेर प्रश्न गरेका छन् साथै उनले स्थानीय सरकार संग बजेट पनि हुन्छ तर जातीय छुवाछुत विरुद्धको कुनै कार्यक्रमहरु कहिल्यै संचालन नगरेको गुनासो गर्नुभयो ।




